६१ किलो सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ
६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार छन्। उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो।
ब्रेक सु मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन निकालेर गाल्दा ६१ किलो भन्दा केही कम भएको खुलेको थियो ।
यही हप्ताभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ ।