News

मेयर हर्क साम्पाङलाई प्रश्न गर्नै नपाईने, गरे प्रहरी हिरासतमा

मेयर हर्क साम्पाङलाई प्रश्न गर्नै नपाईने, गरे प्रहरी हिरासतमा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग विवाद गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले एक युवकलाई थुनेर राखेको छ। 

आफूमाथि प्रश्न गर्नेसँग सधै कठोर भएर प्रश्तुत हुँदै आएका साम्पाङले पछिल्लो पटक प्रश्न गरेकै कारण धरान–१५ का अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पु¥याएका छन्। लिम्बु शुक्रबार साँझदेखि नै प्रहरी हिरासतमा छन्।

मेयर साम्पाङले लागू औषधविरुद्ध चलाएको सचेतना अभियानका क्रममा हातेमाइक बोकेर उनी धरान १५ पुगेका थिए। त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए। यो भिडिओ पनि सार्वजनिक भइसकेको छ।

‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको?’ भन्दै रिसाए।

त्यही बीचमा उनले नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन दिन्छन्। मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पु¥याएका थिए। प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन्।

डिएसपी नवराज मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए।

प्रहरीले बिना उजुरी र बिना कसुर थुनामा राखेका युवकमाथि अराजकता फैलाएको मेयर साम्पाङको आरोप छ। फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको लेखेका छन्।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन्।

विशेष