News विदेश

२० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधि भारतमा, रुसका राष्ट्रपति पुटिन र चिनका राष्ट्रपति सी आएनन्

२० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधि भारतमा, रुसका राष्ट्रपति पुटिन र चिनका राष्ट्रपति सी आएनन्

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि जी–२० सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् ।

सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् ।

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् । उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

साथै उनले जी–२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् ।


सम्मेलनमा युक्रेनमा आक्रमण गरेर विश्व मञ्चबाट वहिष्कृत भएका एवं अन्तर्राष्ट्रिय न्यायालयको वारेन्टर सूचीमा परेका रुसी राष्ट्रपति भ्लादमिर पुटिन र नेपालको उत्तरी छिमेक चीनका राष्ट्रपति सी जिनपिङ भने सहभागी छैनन्। चीन र रुसले विदेश मन्त्रीस्तरीय प्रतिनिधि पठाएका छन्।

सम्मेलनमा पछिल्लो समय रुसले युक्रेनमाथि गर्दै आएको अत्याचारपूर्ण आक्रमण, उत्तर कोरियाको आणविक हतियार परीक्षण, चीनमा भइरहेको मानव अधिकार हनन, अफ्रिकी महादेशमा भइरहेको सैनिक कुलगायत विश्व घटनाबारे एकै ठाउँमा विचार आदान–प्रदान गर्ने जनाईएको छ।

सम्मेलनले अफ्रिकन युनियनलाई स्थायी सदस्यका रूपमा समावेश गर्ने निर्णय पारित गरेको छ। सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका हुन्।

विशेष