विदेशमा दिन बिताउन यसकारण बाध्य छन् लोकमान
असोज १८ । आफूविरुद्धको मुद्धा विचारधीन रहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की १५ दिने क्यानडा भ्रमणमा छन् । अख्तियारले कसैविरुद्ध मुद्धा दर्ता गर्नेबित्तिकै आरोपी पदबाट निलम्बित हुन्छ । तर मुद्धा विचाराधीन भएको बेला प्रमुख आयुक्त भने देशविदेश घुमिरहेका छन् ।
भ्रष्टाचार सम्बन्धमा गहिरो जानकारी राख्ने पत्रकार हरिबहादुर थापा भन्छन्, ‘प्रमुख आयुक्तलाई यतिबेला विदेश घुम्न कानुनी बन्देज छैन । तर नैतिक प्रश्न भने छ । प्रमुखआयुक्त जस्तो मान्छेलाई कानुनी भन्दा नैतिक बन्देजले बढी छेक्नु पर्ने हो ।’
प्रमुख आयुक्तका रुपमा कार्कीको नियुुक्तिमा प्रश्न उठाइएपछि अदालतले तत् सम्बन्धि कागजात सरकारसँग माग गरेको छ । प्रमुख आयुक्तमा नियुक्तिका लागि कार्कीले बुझाएको कागजात अहिले सर्वोच्च अदालत पुगिसकेको छ ।
‘कार्कीलाई प्रमुख आयुक्तमा समाजले अश्वीकार गरिसकेको छ । प्राबिधिक कारणले मात्रै उनी पदमा छन् । संसदले कारबाही नगरेसम्म उनी पदमा त हुन्छन् । यसकारण त्यो पदलाई प्राप्त विशिष्ट अधिकार प्रयोग गर्ने बेला अहिले होइन ।’ थापा भन्छन्, ‘कार्कीका लागि यो असमान्य बेला हो । बिदा लिएर निजी भ्रमणमा जानु राम्रो हुने थियो ।’
भ्रष्टाचार नियन्त्रणसम्बन्धी काम गर्ने क्यानडाको सरकारी निकायसँग कार्यगत सम्बन्ध विस्तारका नाममा अख्तियार प्रंमुख कार्की क्यानडामा छन् । १९ सेप्टेम्बरमा कार्यगत सम्बन्ध विस्तारका लागि ‘सद्भावना भ्रमण’ भन्दै क्यानडा प्रस्थान गरेका थिए ।
सर्वोच्चले आज हो कि भोली निर्णय लिने अवस्था छ । त्यो निर्णय छल्न कार्कीले कार्यगत सम्बन्ध विस्तारका नाममा विदेश भ्रमणमा हानिएको पत्रकार थापा दाबी गर्छन् । थापा भन्छन्, ‘नेपाल र क्यानडामा हुने भ्रष्टाचारको तौरतरिकै फरक हुन्छ । यसकारण कार्यगत सम्बन्ध विस्तार भन्नु एउटा देखावटी कारण मात्रै हो कि ?’
भ्रष्टाचार विरोधी अभियन्ता केदार खड्काको नजरमा भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीले अहिले जे जस्तो गरिरहेका छन् ती हर प्रकारले उचित छन् । खड्का भन्छन्, ‘पहिलो कुरा त अदालतले नै उहाँलाई विदेश भ्रमणमा नजाउ भनेको छैन । विशिष्ट पदमा रहेको मान्छेविरुद्ध अदालतमा मुद्धा छ भन्दैमा उसले भ्रमण रोक्न आवश्यक हुँदैन, रोक्नु पनि हुँदैन ।’
कार्कीविरुद्धका विषयहरु प्रायोजित हुने भन्ने तर्क खड्काको छ । ‘कार्कीको कारबाहीमा दुई मन्त्रीले जागिरबाट हात धोए, केही सचिव, सहसचिवहरु, सशस्त्रका तीन जना आइजीलगायत धेरै कारबाहीमा तानिएका छन् । यीनीहरुको अहिले दिन नै कसरी अख्तियारलाई कसरी पंगु बनाउने भन्ने षडयन्त्रमा बित्छ ।’ खड्काले भने ।
‘विदेश भ्रमणको विषय चाहिँ आयोगको पाँच वर्षे रणनीतिअनुसार नै भएको देखिन्छ ।’ खड्काले भने, ‘आयोगको रणनीतिमै अरु देशका भ्रष्टाचार नियन्त्रण गर्ने निकायसँग कार्यगत सम्बन्ध विस्तार गर्ने भन्ने छ । त्यो क्रममा प्रमुख आयुक्त क्यानडा गएका होलान् ।’