राजनीति

मन्त्री डा महतद्वारा नेपालको समृद्धिमा सघाउन आग्रह

मन्त्री डा महतद्वारा नेपालको समृद्धिमा सघाउन आग्रह
prakash-sharan-mahat
काठमाडौँ, २२ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गर्नुभएको छ । शनिबार थाइल्यान्डको राजधानी बैंककमा नेपाली दूतावास, गैर आवासीय नेपाली संघ ( एनआरएनए) थाइल्याण्ड र एआइटी नेपाली समाज थाइल्याण्डद्वारा आयोजित बडादशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले जुन देशमा रहेको भएपनि आफूलाई त्यो स्थानमा पु¥याउन आफ्नो मातृभूमिको योगदान र लगानी रहेकोतर्फ सोचेर आफ्नो भूमिकालागि केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्न उहाँले विश्वमा रहेका नेपालीलाई आग्रह गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डा महत एसिया कोअपरेशन डाइलग (एसिडी)को दोस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै शुक्रबार बैंकक पुग्नुभएको हो । बैंककमा रहेका नेपालीहरुको ठूलो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले संसारमा रहेका नेपालीहरुले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो । नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक विकासको चरणमा अब अघि बढ्न लागेको बताउँदै मन्त्री डा महतले यो अभियानमा विश्व समुदायको सहयोग र सद्भाव रहेको र त्यसमा संसारमा रहेका नेपालीको पनि आ—आफ्नो ठाउँबाट सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । संविधानमा देखिएका कतिपय असन्तुष्टिहरुलाई सम्बोधनको प्रक्रिया नेपालले सुरु गरिसकेको जानकारी दिँदै मन्त्री डा महतले आगामी दिनमा राष्ट्रिय सहमति र सहकार्यका साथ अघि बढ्ने वातावरण सरकारले निर्माण गर्ने धारणा राख्नुभयो । सो कार्यक्रममा एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्र प्रसाद ढकालले थाइल्याण्डमा रहेका नेपाली समुदायका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । मन्त्री डा महतले आजै साँझ एसिडी सम्मेलनमा सहभागिताका लागि त्यहाँ गएका उक्त मञ्चका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको रात्रिभोजसहितको बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले उक्त एसिडी सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेताका हैसियतमा सोमबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका विभिन्न सत्रहरु आइतबारदेखि सुरु हुँदैछन् । उक्त मञ्चमा एसियाका ३४ देश सदस्य छन् । बैंककमा सुरु हुन लागेको यो सम्मेलन दोस्रो हो । यसअघि यसको पहिलो सम्मेलन सन् २०१२ मा कुबेतमा भएको थियो । उक्त सम्मेलनमा एसियाका ३४ देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विदेशमन्त्रीहरुको सहभागिता रहेको छ । रासस

dr prakash sharan mahat

विशेष