कला साहित्य

१ देखि १२ सम्म संस्कृत भाषा अनिवार्य गर्न माग

१ देखि १२ सम्म संस्कृत भाषा अनिवार्य गर्न माग
कात्तिक - ५ । संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ । नेपाल आर्य समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पुर्याइनु पर्नेमा जोड दिए । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा। कुलप्रसाद कोइरालाले संस्कृत भाषामा भएका ज्ञानविज्ञानको सबैले उपयोग गर्न पनि संस्कृत भाषा सबैका लागि हुनुपर्ने बताए । सम्मेलनले विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले प्रस्ताव गरेको नौसूत्रीय घोषणापत्र पारित गरेको आयोजक समितिका संयोजक डा। माधवप्रसाद उपाध्यायले बताए । नौसूत्रीय प्रस्तावमा संस्कृत भाषामा भएका आचार, मानवकल्याण, पर्यावरण संरक्षण र स्वास्थ्यका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, संस्कृत पठनपाठनको व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गर्नुपर्ने, भाषा, धर्म, संस्कृतिसम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा संस्कृतका विद्वान्लाई समावेश गर्नुपर्ने र संस्कृत भाषाका विशिष्ट ग्रन्थलाई पुनःप्रकाशन गराउन सरकारसँग माग गर्नुपर्ने लगायत बुँदा उल्लेख छ । दोस्रो चरणमा गरिएको वेद विज्ञान सम्मेलनमा वेदमा भएका वैज्ञानिक विषयको उपयोग गरी समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए । सम्मेलनका सहभागी भारतीय लोकसभाका सांसद स्वामी सुमेधानन्द सरस्वतीले वेदमा भएका वैज्ञानिकताको लाभ उठाउन विश्वका सबै विश्वविद्यालयमा अध्ययनअध्यापन गराइनुपर्ने बताए । ‘यसको पहिलो चरणमा भारतका सबै विश्वविद्यालयमा स्वामी दयानन्द सरस्वतीको नाममा वेद अध्ययन विभाग बनाई अध्ययन अध्यापनको सुरुआत गर्ने तयारी भएको छ, विश्वविद्यालयमा वेदको वैज्ञानिकताका बारेमा अनुसन्धान हुनुपर्छ’ उनले भने । त्रिवि संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले नेपालमा वेदको अध्ययन अनुसन्धान गर्न छुट्टै विश्वविद्यालय स्थापनाको माग गरे । स्वामी देवव्रतलगायतले वेदको वैज्ञानिकताका विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिए ।

Sanskrit language

विशेष