महाअभियोग प्रस्ताव दर्ता अघि प्रचण्ड तयार नै थिए, तर अहिले कुर्सी जाला कि भन्ने डरले उनको वाक्य बस्यो
कात्तिक–६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउन महाभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा माओवादी केन्द्र अबको प्रक्रियाबारे अलमलमा छ ।
महाभियोग प्रस्ताव दर्ताअघि कार्कीलाई कारबाही पक्षमा देखिएका माओवादी केन्द्र अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्ताव गरेपछि मौन छन् । प्रस्ताव दर्ताको दुई दिन बित्दा पनि दाहालले अबको प्रक्रियाबारे जानकारी नगराएपछि दलका नेता–सांसद पक्ष या विपक्ष कता लाग्ने भन्ने अन्योलमा छन् ।
माओवादी केन्द्रका ५० र प्रमुख प्रतिपक्ष एमालेका १०७ सांसदले संयुक्त रुपमा बुधबार संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । प्रस्ताव दर्तापछि विशेषगरी सत्तारुढ ठूलो घटक नेपाली कांग्रेस र माओवादीले उक्त प्रस्तावबारे प्रष्ट धारणा बनाउन नसक्दा शुक्रबार बस्ने तय भएको संसद् बैठक सूचना टाँसेर आइतबारसम्म स्थगित गरिएको छ । कार्कीविरुद्धको महाभियोग प्रस्ताव अब कसरी अघि बढ्छ भन्ने प्रक्रिया जान्न जनता उत्सुक देखिए पनि दल अलमलमा रहेका छन् । –नागरिक दैनिकबाट