राजनीति

लोकमानविरुद्धकाे प्रस्तावकाे विषयलाई लिएर कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की

लोकमानविरुद्धकाे प्रस्तावकाे विषयलाई लिएर कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की
कात्तिक – ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावबारे नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्को बहस भएको छ । सोमबार बिहानदेखि बसेको कांग्रेसको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले अख्तियार प्रमुख कार्कीलाई जोगाएर कांग्रेसले कलङ्कको टीका लाउन नहुने बताएका छन् । congress बैठकमा बोल्दै केन्द्रीय सदस्य डिला संग्रौलाले लोकमानविरुद्धको महाभियोगको विपक्षमा गएर कांग्रेसले कलङ्कको टिका लाउन नहुने बताइन् । महाभियोगको विपक्षमा गएर नेपाली कांग्रेसले कलंकको टीका लाउनु हुँदैन’, उनले बैठकमा भनिन, ‘यसले पार्टीलाई धेरै ठूलो क्षति हुन्छ ।’ आजको बैठकमा सभापति देउवानिकट केन्द्रीय सदस्यहरुले लोकमानविरुद्ध आफ्नो धारणा राख्दै महाभियोगको प्रस्ताव कांग्रेसले नेतृत्व गरी पारित गर्नुपर्ने विचार ब्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए । बैठकमा बोल्दै अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लोकमानको अत्याचारविरुद्ध संसदमा सबैभन्दा पहिले आफूहरुले नै आवाज उठाएकाले महाभियोगको पक्षमा उभिनुपर्नेमा जोड दिए । उनले भने, ‘गगनजी र मैले अग्रसरता लिएर संसदमा लोकमानबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थियौं । अहिले कसले संसदमा महाभियोग प्रस्ताव दर्ता गरायो भन्नु भन्दा हाम्रै पार्टीले नेतृत्व गरेर प्रस्ताव पारित गर्नुपर्छ । यसमा निर्णय गर्न ढिलाइ गर्नु हुँदैन ।’ अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसले लोकमानसँग सती जान नहुने बताए । अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पनि महाअभियोग लगाएर लोकमानलाई हटाउनुपर्ने मत राखे । कांग्रेस प्रष्टरुपमा महाभियोग प्रस्तावको पक्षमा उभिनुपर्छ’, उनले भने, ’यसमा तर, किन्तु, परन्तु र दायाँ–बायाँ गर्नु हुँदैन ।’ गगन थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्मासहितका नेताहरुको स्वर महाभियोगको पक्षमा सुनिएका बेला कांग्रेसभित्रै पनि लोकमानलाई जोगाउनुपर्ने मत आएको छ । बैठकमा केन्द्रीय सदस्य पुष्पा भुसालले महाभियोग प्रस्ताव एमालेको अग्रसरतामा आएकाले त्यसको पक्षमा उभिन कांग्रेसले बिचार र्पुयाउनुपर्ने बताइन् । त्यसैगरी युवा नेता तथा केन्द्रीय सदस्य गुरु घिमिरेले अख्तियारको कारवाहीबाट जोगिन माओवादी केन्द्र र एमालेका केही नेताहरुले यो महाभियोग प्रस्ताव ल्याएको आरोप लगाए । कांग्रेसले केन्द्रीय समितिबाट महाभियोग प्रस्तावबारे निर्णय लिन नसक्ने अवस्था आएमा संसदीय दलबाट टुंगोमा पुग्ने तयारी पनि भइरहेको छ ।

Congress Lokman Sing Karki

विशेष