राजनीति

राष्ट्रपति आउँदा सरकारी बिदा ! यो त देश कै बेइज्जत

राष्ट्रपति आउँदा सरकारी बिदा ! यो त देश कै बेइज्जत

prachnada-vs-pranab-mukharji
कात्तिक - ११ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा क्रान्तिकारी नेता प्रचण्ड सिंहदरबारमा आसिन भए । भनिरहनु पर्दैन रुक्माङ्गत कटवाल प्रकरणमा उनलाई सिंहासनच्युत गरियो । बाहिर कटवाल प्रकरण भनिए पनि भित्र भारतीय स्वार्थसँग टक्राएपछि प्रचण्ड राजीनामा गर्न पर्ने परिबन्दमा पुर्याइए । कटवाल बर्खास्तीका लागि शुरुमा पहल लिएको एमाले यूटर्न भयो । कारबाहीबाट पछि नहट्नु भन्दै प्रचण्डलाई धाप मारेका तत्कालिन नेकपा एमाले अध्यक्ष झलनाथ खनाल चीनबाट फर्कदा विषयमा पूरै फर्किएका थिए । हुँदाहुँदा कटवालको थमौतीका लागि संवैधानिक राष्ट्रपतिलाई बिन्तीपत्र चढाउने पहिलो नम्बरमा खनाल थिए । त्यतिबेला भारतका बिदेश मन्त्री थिए प्रणव मुखर्जी । उनैले खनाललाई चीनमा फोन घुमाएर कटवालको पक्षमा बाध्यात्मक दबाब दिएका थिए । संवैधानिक दायरामा रहेका यादवले चण्डीगढ पढ्दाका सहपाठी मुखर्जीसँग पटक पटक संवाद गरेका थिए । उता कटवालले सँगै सैन्य तालिम लिएका भारतीय सेनाका तत्कालिन प्रमुख दीपक कपुरसँग रोइकराइ गरिरहेका थिए । कपुरकै जोडबलमा मुखर्जी मैदानमा उत्रिएका थिए । कतिसम्म भने स्वाधीन देशको राष्ट्रपति यादवलाई विदेशी देशको सेनापतिले फोन गरेर कटवाललाई केही भए आफू चुप लाग्न नसक्ने चेतावनी दिइरहेका थिए । उता जङ्गी अड्डामा डेरा जमाएका कटवाल राष्ट्रपतिलाई फोन गरेर ‘शितल निवासले थमौति पत्र दिएपनि नदिएपनि आफूले अड्डा नछाड्ने’ भन्दै सैन्य कू को संकेत गरिरहेका थिए । प्रचण्डले बल्ल चेस गेम बुझे । घोडादेखि प्युसासम्मले घेराबन्दी गरेपछि उनले घोषणा गरे, ‘प्रभुको आर्शिबादले शासन चलाउने दिनको अन्त्यका लागि जनतामा जाने ।’ अहिले, उनै मुखर्जी भारतको राष्ट्रपति छन् र राष्ट्रपतिका रुपमा पहिलो पटक नेपाल आउदैछन् । यता उनै क्रान्तिकारी प्रचण्ड नेपालको प्रधानमन्त्री छन् र मुखर्जीको स्वागतका लागि सार्बजनिक बिदा दिदैछन् । ‘क्रान्तिकारी’ प्रचण्डको योसम्मको लाचारीले लोकलाई आक्रोशित बनाएको छ । लोकलाज टाल्न चीनको राष्ट्रपति आउँदा पनि सार्वजनिक बिदा दिने निर्णय गराएका छन् । चीनका राष्ट्रपतिको संभावित भ्रमण समेत रोकिएको भनिएको सन्दर्भमा यस्तो निर्णयले जगत हसाएको छ । सुरक्षा चुनौतिका कारण सार्वजनिक बिदा दिइएको तर्क देश कमजोर छ भनेर पुष्टि गराउने महत्वपूर्ण कडी हुनेछ । अमेरिकामा बर्षेनी संयुक्त राष्ट्रसंघको महासभा हुन्छ । त्यहाँ विश्वभरका राष्ट्रप्रमुख जान्छन् । त्यहाँ सार्वजनिक बिदा हुँदैन । नेपालका राष्ट्रपतिको रुपमा रामबरण यादवले भारतको तीन पटक भ्रमण गरे । सार्वजनिक बिदा त के सामान्य समाचार समेत संचारमाध्यमले बनाउन कञ्जुसाईं गरे । तर, सार्वजनिक बिदा दिएर उत्सव मनाईंदै छ । यो हदसम्मको लाचारी अन्त कहाँ हुन्छ ?
बिकल्प के हुन्थ्यो ? सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर केही बैकल्पिक उपाय अपनाउन सकिन्थ्यो । जस्तो प्याब्सन, हिसान लागयतका संस्थासँग समन्वय गरेर निजी शिक्षालयलाई बिदा गर्न सकिन्थ्यो । उपत्यकाका जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालय र कलेजमा बिदा दिन सकिन्थ्यो । ट्राफिक संवेदनशिलतालाई ख्याल गर्दै नागरिकलाई सवारी साधन कम प्रयोग गर्न ट्राफिक प्रहरीमार्फत सार्वजनिक अपिल गर्न सकिन्थ्यो । अन्य निकायसँग पनि यसै गरी समन्वय गरेर सुरक्षा संवेदनशिलतालाई हेक्का राख्न सकिन्थ्यो । तर, विवेक पु¥याइएन । देशकै स्वाभिमान गिराउने काम भयो ।
किन दिने सार्वजनिक बिदा ? बिगतमा देशका राज्य प्रमुखले बिदेशको राजकीय भ्रमण गर्दा सार्वजनिक बिदा दिने चलन थियो । गणतान्त्रमा प्रवेश गरेपछि रामबरण यादबको बिदेश भ्रमणमा के गर्ने ? समस्या आइलाग्यो । तत्कालिन सरकारले गणतन्त्रमा यस्तो बिदा अशोभनिय हुने निष्कर्ष निकाल्यो । बिदाको चलन हट्यो । अहिले भारत र चीनका राष्ट्रप्रमुख आउँदा सार्वजनिक बिदा दिने निर्णय गरियो । भारतीय राष्ट्रप्रतिको भ्रमणलाई केन्द्रमा राखेर यस्तो निर्णय गरिएको छ, त्यो पनि भ्रमण शुरु हुनुभन्दा २ हप्ता पहिले । भारतीय पक्षलाई समेत लाज लाग्ने गरी चाकडीभाव सरकारले प्रस्तुत गरेको छ । यसले प्रचण्ड नेतृत्वको सरकारको छबी झनै खस्काएको छ । विदेशी प्रभुलाई दुत्कार्ने प्रचण्डलाई विदेशी प्रभुकै सामू लम्पसार परेको बात लाग्ने मार्ग प्रशस्त भएको छ । मन्त्रीपरिषद्मा रहेका र दुनियाँलाई छारो हाल्न अनेक बात गर्ने गगन थापाहरु बिस्तारै गनगनमा सिमित हुने प्रष्ट तस्बिर देखिन थालेको छ ।
 

pranab maukharji puspakamal dahal prachanda

विशेष