राजनीति

प्रचण्डलाई थाहा दिएको भए प्रस्ताव दर्ता गर्न पाईंदैनथ्यो, त्यसैले सुटुक्क गरियो

प्रचण्डलाई थाहा दिएको भए प्रस्ताव दर्ता गर्न पाईंदैनथ्यो, त्यसैले सुटुक्क गरियो
untitled-1-copy
अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव गर्ने नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिइ प्रस्ताव संसदमा दर्ता गराएर ठीक गरिएको दाबी गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई थाहा दिएको भए प्रस्ताव दर्ता गर्न नपाइने भएकाले छापामार शैली अपनाउनु परेको उनले प्रष्टिकरण दिएका छन् । ‘प्रचण्डमाथि देशी विदेशी दबाब परेको थियो । दलीलय सहमति बिना उहाँले दर्ता गर्न मान्नुहुन्थेन । हामीले वैकल्पिक बाटो अपनायौँ ।’ शाहीको भनाइ छ । पत्रकार नारायण पौडेलसँग टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै शाहीले भने, ‘उहाँले सहमति गरेर मात्रै दर्ता गर्ने भन्नुहुन्थ्यो । दलहरुका बीचमा सहमति हुने स्थिति थिएन । उहाँलाई भनेपछि दर्ता हुँदैनथ्यो । त्यसैले भनिएन ।’ उनले प्रचण्डलाई क्रस गरेर आफुहरुले पार्टी, नेतृत्व र जनताको पक्षमा योगदान गरेको बताए । ‘युद्धको बेलापनि प्रचण्डले कारवाही नगर्नु भनेको ठाऊँमा गरेका हुन्थ्यौँ । कारबाही सफल भएपछि मात्र भन्थ्यौँ । अहिलेपनि त्यस्तै गरियो ।’ नेतृत्वलाई क्रस गर्नुपर्नाको कारण औल्याउँदै शाहीले भने । उनले अध्यक्ष प्रचण्डलाई क्रस गर्नु आफुहरुको बाध्यता भएको जनाए । पार्टी विधि उल्लंघन गरे वापत कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । कारवाहीका लागि तयार भएरै प्रस्ताव दर्ता गराएको बताउँदै शाहीले भने, ‘पार्टीको विधि मिच्ने काम हामीले गरेका हौँ । तर पार्टी, नेतृत्व र जनताको पक्षमा निर्णय लिएका हौँ । यस बापत कारबाही भोग्न तयार छौँ ।’ उनले प्रचण्ड महाअभियोगको पक्षमा भएपनि उपयुक्त सन्र्दभको खोजीमा रहेको बताए । ‘एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदै अध्यक्ष प्रचण्डले महाअभियोग लगाउन पहल गर्नु भएको थियो । ओलीले नमानेपछि लगाउन सकिएको थिएन । त्यसैले महाअभियोग माओवादीको एजेण्डा हो ।’ शाहीले महाअभियोगको तयारीका बारेमा जानकारी दिंदै भने । महाअभियोगका लागि पार्टीका सांसदहरुको हस्ताक्षर झुक्काएर लिएको भन्ने आरोपलाई शाहीले इन्कार गरेका छन् । दलहरुका बीचमा सहमति जुटाएर प्रस्ताव दर्ता गर्नका लागि लिइएको हस्ताक्षर आफुहरुले प्रयोग गरेको उनले प्रष्ट गरेका छन् ।

Lokman Sing Karki mahaabhiyog prastab mahendra bahadur shahi Narayan Poudel puspa kamal dhahal prachanda

विशेष