महाकवि देवकोटाको ढुंगा पगाल्ने ‘पागल’ कविताको रहस्य यस्तो छ
कात्तिक १४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०८ औ जन्मजयन्ती हो । देवकोटालाई आज हामी सम्झना गरिरहेका छौं । देवकोटा भन्ने बित्तिकै हामी उनको मुना–मदन खण्डकाब्य सम्झना गर्दछौं । फुटकर कविता मध्येको एक गद्य शैलीमा लेखिएको पागल कविताको चर्चा गरिएन भने पनि केही खल्लो अवश्य हुनेछ । देवकोटालाई भारतीय महाविद्वान राहुल सांकृत्याय्ले पागल (लहडी) भनेपनि देवकोटा आगो भएछन् । अनि उनले पागल कविता सिर्जना गरे । यो कवितामा ‘तिम्रा विद्वान, मेरा मुर्ख’ भन्ने शब्दको ठाउँमा देवकोटोले राहुलको नाम नै लेखेका थिए । पछि संशोधन गरेर ‘विद्वान’ बनाइयो ।
पढौं यो कविता
जरूर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई स्वाद लिन्छु । आकाशभन्दा पातला कुरालाई छुन्छु ।
ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण, चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागलझैँ, फूलझैँ– एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न। जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छौ, म वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सँग्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैका उल्टो ! तिम्रो संसार ठोस छ। मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ । म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढीकीको बाटुलो सत्यलाई ! मेरो छ वेग काँडाको साथी ! तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल । जरुर साथी । मेरो एक नशा ढिलो छ । यस्तै छ मेरो हाल ! २