राजनीति

कटवाल प्रकरणका 'प्लेयर' मुखर्जीसँग सम्बन्धित रोचक पक्ष

कटवाल प्रकरणका 'प्लेयर' मुखर्जीसँग सम्बन्धित रोचक पक्ष
कात्तिक १७ । २०६८ साल कात्तिकमा प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराई दिल्लीको भ्रमणमा थिए । नेपाल मामिलाका जानकार बित्त मन्त्री प्रणव मुखर्जी उनलाई भेट्न होटल लीला आइपुगे । पूर्वअनुमान विपरित मुखर्जी अति नै औपचारिक देखिए । मनमोहन सिंह नेतृत्वको सरकारका बलशाली मन्त्री तथा सत्तारुढ काँग्रेसका निर्णायक नेता मुखर्जी भट्टराईसँग सदैव खुलेर कुरा गर्थे । प्रधानमन्त्री भएकै बखत किन यसो गरे ? मनमा चिसो पसेपछि भट्टराईले निधिखोजी शुरु गरे । चुरो कुरो पत्ता लाग्यो : तत्कालिन राष्ट्रपति रामवरण यादवले फोनमा कान फुेकेका रहेछन् । katwal11 चण्डीगढ पढ्दादेखि नै चिनापर्ची रहेका मुखर्जीलाई यादवले भट्टराईको भ्रमणमा असहयोग गर्न फोन गरेको भट्टराईको जीवनीमा आधारित पुस्तक अबिराम बाबुराममा उल्लेख छ । राष्ट्रपतिको रुपमा भन्दा काँग्रेसको सहमहामन्त्रीको शैलीमा यादवले मुखर्जीलाई फोन डायल गरेर देशका प्रधानमन्त्रीका विरुद्धमा चक्रव्यूह रच्न खोजेका थिए । भारत निकट भनिएका भट्टराईलाई भारतमै गलाउने र सेना समायोजन तथा संविधान निर्माणमा लखतरान बनाउने यादवको अभिष्ट हुन सक्थ्यो । भट्टराईकै भ्रमणमा सहभागी थिए तत्कालिन अर्थमन्त्री बर्षमान पुन । बृद्ध उमेरका समकक्षीलाई भेट्न मन्त्रालय पुगेका युवा पुनले परिस्थिति बुझिसकेका थिए । भेटको शुरुमै बर्षमान बोले, ‘म एजेण्डा लिएर आएको छैन । मेरो उमेरभन्दा तपाईको राजनीति जेठो छ । म तपाईको अनुभवबाट सिक्न आएको हुँ ।’ छापामार कमाण्डर पृष्ठभुमी भएका पुनले मुखर्जीलाई मुखैले पुलकित पारे । मुखर्जीले गला मिलाए । सन् १९३५ मा भारतको पश्चिम बंगालमा जन्मेका मुखर्जी भारतमा सबैभन्दा धेरै मन्त्री हुने मध्येमा पर्दछन् । बंगलादेशमा जन्मेकी सुभ्रासँग बिबाह गरेका मुखर्जीले दुई बर्ष अघि जीवन साथी गुमाएका थिए । उनको राजनीतिक उठानमा गान्धी परिवारको महत्वपूर्ण भुमिका छ । इन्धिरा गान्धीको सहयोगमा राज्यसभामा निर्वाचित भएपछि उनले राजनीतिबाट पछाडि फर्केर हेर्नु परेन । इन्दिरालाई उनी सबै मौसमका लागि उपयुक्त व्यक्तिका रुपमा अर्थाउँथे । इन्दिराका दाहिने हात मानिने मुखर्जी इन्दिराको हत्यापछि काँग्रेसमा अटाउन सकेनन् । इन्दिरापुत्र राजिवले पार्टीको नेतृत्व सम्हाल्न नसक्ने भन्दै उनले फरक मत राखे । अन्ततः उनी काँग्रेस छाडेर भिन्दै दल खोजे । त्यसको पाँच बर्षपछि फेरि काँग्रेसमै बिलय भए । राजिवको हत्यापछि मुखर्जी फेरि राजनीतिमा उदाए । राजिवपत्नी सोनियाले मुखर्जीलाई भरपर्दो नेता ठानिन् । सोनियालाई काँग्रेस आईको नेतृत्वमा ल्याउन मुखर्जीले नै निर्णायक भुमिका खेलेको मानिन्छ । सोनियाले नै मुखर्जीलाई भारतको तेह्रौं राष्ट्रपति बनाएकी हुन् । मनमोहन सिंह नेतृत्वको सरकारमा मुखर्जीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाले । बिदेश मन्त्रालय र बित्त मन्त्रालय यसका उदाहरण हुन् । सन् ६० को दशकदेखि झण्डै ६० बर्ष राजनीतिमा रहेका मुखर्जी नेपाल मामिलाका जानकार मानिन्छन् । राजनीतिशास्त्र र इतिहासमा एमए गरेका मुखर्जी पटक पटक नेपाल आइसकेका छन् । राष्ट्रपतिका रुपमा आउँदा बढी चर्चा भएको मात्र हो । मुखर्जीले नेपालको शान्ति प्रक्रियाको आरम्भ मानिने बाह्र बुँदे सहमतिका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । अल जजिरा टेलिभिजनमा अन्र्तवार्ता दिंदै उनले सो कुराको खुलाशा गरेका थिए । गिरिजाप्रसाद कोइराला र प्रचण्डको हस्त मिलनका लागि उनको भुमिका प्रशंसनीय रहेको नेताहरु बताउँछन् । मुखर्जी नेपालको चर्चित सेनापति प्रकरणका स्ट्राइकर हुन् । तत्कालिन प्रधानमन्त्री प्रचण्डले तत्कालिन प्रधान सेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने तयारी गरेपछि मुखर्जी मैदानमा उत्रिएका थिए । भारतको बिदेशमन्त्री रहेका मुखर्जीलाई नेपालको शितल निवासबाट तारन्तार फोन गइरहन्थ्यो । नेपालका राष्ट्रपति यादवले बिन्ति बिसाउँथे, ‘एमाले कारबाहीको पक्षमा छ । गाह्रो पर्यो ।’ कटवाललाई कारबाही गरिछाड्ने अभिव्यक्ति दिएर नेकपा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल चीनको बेइजिङ प्रस्थान गरेका थिए । मुखर्जीले खनाललाई बेइजिङमै फोन गरे । मुखर्जीले अनेक मन्त्र लगाए । अन्ततः खनाल कारबाहीको विपक्षमा मोडिए । काँग्रेस आई नेतृत्वको सरकारका राजनीतिक व्यक्तित्व मुखर्जी नै थिए । प्रधानमन्त्री भएपनि मनमोहन सिंहको राजनीतिक व्यक्तित्व थिएन । छिमेकीसँगको महत्वपूर्ण सवालमा मुखर्जी अघि सर्थे । अहिले प्रधानमन्त्री आफैँले पहल लिन्छन् । त्यतिबेला त्यस्तो थिएन ।मुखर्जीको नेपालका धेरै नेतासँग निकट सम्बन्ध थियो । तत्कालिन राष्ट्रपतिसँग पूरानै मित्रता थियो । उता कटवाल आफैंपनि भारतीय संस्थापन पक्षको सहायताले मात्र जोगिन सकिने निष्कर्षमा पुगिसकेका थिए । उनले जङ्गी अड्डासँगै रहेको सर्वोच्व अदालतमा न्यायका लागि याचाना गरेनन् । बरु भारतीय सेनाध्यक्ष दीपक कपुरसँग रोइकराइ थाले । अधिकृत तालिम सँगै लिएका कपुर कटवाललाई जोगाउन हात धोएर लागे । मुखर्जीको मनपेट बुझेपछि नेपालका अधिकांश नेता र दलको मुड फेरियो । संवैधानिक राष्ट्रपतिलाई मोहरा बनाएर कार्यकारी प्रधानमन्त्रीको निर्णयलाई लोप्पा खुवाइयो । परिश्थिति बुझेका प्रचण्डले पत्रकार सम्मेलन गरी राजिनामा दिए । उनले घोषणा गरे, ‘प्रभुको कृपाले सरकार चलाउने दिनको अन्त्य गर्न जनतामा जाँदैछु ।’ प्रचण्डले प्रभुको शक्तिका बिरुद्ध आन्दोलन गरेको आठ बर्ष बितेको छ । यो आठ बर्षमा विषय निकै फेरिएको छ । प्रणव मुखर्जी राष्ट्रपतिका रुपमा नेपाल आउँदैछन्, प्रचण्ड प्रधानमन्त्रीका रुपमा स्वागत गर्न खटिएका छन् । हिजो प्रभुका रुपमा अर्थाइउका मुखर्जीको स्वागतमा सरकारी बिदा घोषणा गरेर प्रचण्डले जगत हँसाएका छन् ।

pm pushpa kamalo dahal prachanda pranab mukharji rukmangat katwal

विशेष