राजनीति

'मुखर्जीलाई बेकारको चाकडी भयो, दोष प्रचण्डले लिनुपर्छ’ भिडियोसहित

'मुखर्जीलाई बेकारको चाकडी भयो, दोष प्रचण्डले लिनुपर्छ’ भिडियोसहित
jhalanath-khanl

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतीय राष्ट्रपति प्रणब मुखजीको भ्रमणमा अनावश्यक चाकडी गरिएको टिप्पणी गरेका छन् । सार्वजनिक बिदा दिएकोमा खनालले तिब्र असन्तुष्टि व्यक्त गरेका हुन् । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो गल्ती दोहोराउन नहुने बताए । 'म प्रधानमन्त्री भएँ भने यस्तो गल्ती रोक्छु । भारतले नेपालको राष्ट्रपति जाँदा बिदा दिन्छ र ? उसले नदिने भएपछि हामीले किन दिने ?’ खनालले प्रतिप्रश्न गर्दै भने, - 'कोही देशका राष्ट्रपति आउँदा बिदा दिने, कसैलाई नदिने भन्नु गलत छ ।’ उनले बिदाको दोष प्रधानमन्त्री प्रचण्डले अर्काको टाउकोमा थुपार्न नमिल्ने प्रष्ट गरेका छन् । राष्ट्रपतिको चाहनामा दिइएको बिदा भन्नु कार्यकारी प्रधानमन्त्रीका लागि उपयुक्त नहुने उनको भनाइ छ । 'संविधानले अरुको चाहनालाई चिन्दैन । सरकारलाई चिन्छ । प्रधानमन्त्रीलाई चिन्छ । दोष प्रचण्डले लिनुपर्छ ।’ खनालको तर्क छ ।
भारतसँग के को विशेष सम्बन्ध ? पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँग नेपालको कुनै विशेष सम्बन्ध नभएको बताएका छन् । हरेक देशसँग नेपालको विशिष्ट सम्बन्ध रहेको जनाउँदै खनालले भने, 'बिशेष सम्बन्ध छ भनेर भारतीयहरुले हामीलाई हेप्ने गरेका छन् । बडेभाइ पारा अब सहिन्न ।’ उनले भारतीय पक्षलाई नेपाललाई स्वाधिन र सार्वभौम देशका रुपमा हेर्न आग्रह गरे । दृष्टिदोष बाँकी नै रहेको भए सच्चिनपनि उनले भारतीय पक्षलाई सुझाब दिएका छन् ।
नेपालको संविधान बारे भारत किन बोल्ने ? नेकपा एमालेका अध्यक्ष रहिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतीय राष्ट्रपति मुखर्जीले दिएको लिखित मन्तव्यको विरोध गरेका छन् । मुखर्जीले संविधान संशोधनजस्तो नेपालको आन्तरिक मामिलामा बोलेर गल्ती गरेको जनाए, 'नेपालको आन्तरिक मामिलामा बोल्ने छुट कुनै बिदेशीलाई छैन । उहाँबाट गल्ती भएको छ त्योपनि औपचारिक मन्तव्यमा ।’ नेपालको संविधानका बारेमा जे गरेपनि नेपालीकै विषय भएकाले बाह्य टिप्पणी अस्विकार्य रहेको खनालले स्पष्ट गरेका हुन् । १२ बुंदे सहमति गर्दा भारतीय पक्षको सहयोग लिइएको जनाए पनि त्यसैको आधारमा हस्तक्षेप गर्न भारतले नपाउने बताए । 'हामीले देशमा सहमति गर्ने अवस्था नभएपछि भारत गयौँ, तर भारतको हस्तक्षेप स्विकार गछौँ भनेका होइनौँ । भारतको भुमीमा नभएको भए अरु कुनै भुमिमा गर्थ्यौँ ।’ खनालले दाबी गरे ।
फेरि पनि अध्यक्ष झलनाथ खनालले आफु पाँचौ पटक पार्टीको नेतृत्वमा पुग्न इच्छुक रहेको खुलाशा गरे । भावि अध्यक्षका लागि आफूले तयारी गरिरहेको उनको भनाइ छ । गुटमा विभाजित एमालेमा गुट निर्माणमा नलागेकाले आफू एक्लो जस्तो देखिए पनि साझा नेता आफू नै भएको उनको दाबी छ । 'पार्टी थप उचाईंमा पुर्याउन र एकताबद्ध बनाउन मेरो नेतृत्व आवस्यक छ ।’ उनले भने ।
लोकमान बच्नपनि सक्छन् एमाले बरिष्ठ नेता खनालले आरोप पुष्टि नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त कार्की उम्किने जनाए । उनले कार्कीका नियुक्तिका बेला आफूले अडान फेरेको स्विकार गरे । 'म विपक्षमा थिए । पछि काँग्रेस, एमाले र दलभित्रकै कतिपय नेताले कर गरेपछि मानेको हुँ । मैले त्यतिबेलै महाअभियोग लाग्न सक्छ भनेको थिएँ । बाटो सही नसमाएपछि लगाइयो ।’ खनालले आफ्नो बचाउ गरे । उनले कार्कीको कारबाहीका लागि बिधि र प्रक्रिया पूरा हुनुपर्ने स्पष्ट गरे ।

jhalnath khanal Lokman Sing Karki

विशेष