राजनीति

नवलपरासीमा १५ स्थानीय तह बनाउने प्रस्ताव

नवलपरासीमा १५ स्थानीय तह बनाउने प्रस्ताव
कात्तिक २१ । यहाँ १५ स्थानीय तह बनाउने प्रस्ताव दलहरुलाई अघि सारिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति नवलपरासीका अनुसार जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका बनाउने प्रस्ताव राखिएको छ । जनसङ्ख्या र भूगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरी १५ स्थानीय तह बनाउने गरी प्रस्ताव ल्याइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताए । यद्यपि नवलपरासीमा समितिले दलबीच यस्तो प्रस्ताव ल्याए पनि मधेसकेन्द्रित दलको असहमतिका कारण सहमति जुट्न सकेको छैन । अन्य दलले सो प्रस्तावमा सहमति जनाइसकेका छन् । अब सबै दलको बैठक बोलाएर यसलाई अन्तिम रुप दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलकाे भनाई छ । भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्या लगायत आयोगले तोकेको मापदण्डका आधारमा ती स्थानीय तहको प्रस्ताव गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ । मधेस केन्द्रित दलहरु सीमाङ्कन लगायत विषय लिएर आन्दोलनमा रहेकाले जिल्लामा पनि त्यसको प्रभाव परेको छ । आफूहरुले उठाउँदै आएको सीमाङ्कन लगायत विषय सम्बोधन नभएसम्म पुनःसंरचना मान्य नहुने मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनुभयो । नवलपरासीको जनसङ्ख्यानुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ ।

nawalparasi sthaniya taha

विशेष