प्रधानमन्त्री ज्यू, सातवटा रुख काट्न कति बर्ष लाग्छ ?
कूलो र पानीको सुविधा भएकाले बर्दियाको पदनहा कुनैबेला रोज्जा ठाऊँ थियो । ‘हरिहर गौतम (०२१ सालमा भूमीसुधार लागू हुनुपूर्व नेपालकै धनी) ले त्यसै यहाँ दरबार बनाएका होइनन् ।’ आफ्नो ठाऊँको गौरवगाथा कहदै स्थानीय भन्छन्, ‘हाम्रै गाविसको बाह्रबर्दियाबाट बर्दियाको नाम रहन गएको हो । तर अहिले राज्यको दृष्टि नपर्दा ठाऊँ बर्बाद भयो ।’
जिल्लाकै नामी ठाऊँ पदनहा हुँदा हुँदा तराईकै दुर्गममध्येको ठाऊँमा रुपान्तरण भएको छ । पदनहाका पूर्व गाविस अध्यक्ष पूर्ण शर्मा भन्छन्, ‘पहिले काम नलाग्ने भनिएका ठाऊँ भौतिक विकासका कारण कहाँबाट कहाँ पुगिसके । कूलो र उर्बर जमिनका कारण धेरैको रोजाइमा परेको पदनहा विकासको अभावमा ओझेलमा प¥यो । बबइ नदीले घेरिएको पदनहा यातायातको कठिनाइ र नदी कटानका कारण अन्कन्टार बनेको छ ।’
०७१ सालमा झुलुङ्गे पूल बनेपछि बर्दियाको पदनहामा भिन्दै चहलपहल देखियो । बजारसँगको सहज पहुँच र मानिसहरुको ओहोरदोहोर हुन थालेपछि कुनो भनिएको पदनहाको मुहार फेरिन थाल्यो । तर संचालनमा आएको २९ दिनमै पूल नदीले बगाइदियो । बाढीले निम्त्याएको विनासपछि पदनहाको पीडा झनै बढेको छ ।
कुसुम्बाघाट बर्दियाकै सबैभन्दा चल्तीको घाट हो । दैनिक सयौँ मानिस यही घाट हुँदै आवाजजावत गर्दछन् । पदनहा, बनियाभार, मगरागाडीलाई जिल्लाका व्यापारिक केन्द्र कुसुम्बाबजार र सदरमुकाम गुलरियासँग जोड्ने मुख्य माध्यम नै यही घाट हो । यो घाटमा पूल नबन्दा हजारौँ जन प्रत्यक्ष प्रभावित भएका छन् ।
‘पूल नदीको छेवैमा बनाइएको थियो । छेकबारसमेत गरिएको थिएन । नदीले लैजान्छ भन्ने निश्चित थियो । सम्बन्धित निकायलाई भन्दापनि केही लागेन ।’ पदनहा रानिपुरका बासिन्दा मानबहादुर थारु गुनासो पोख्छन् ।
बाढीले बगाएका संरचना तत्काल बनाउने सरकारले घोषणा गर्यो । सुर्खेत, दाङ, बर्दियालगायतका जिल्लामा भत्किएका पूलमध्ये पदनहा र तारताललाई जोड्ने कुसुम्बाघाट पहिलो नम्बरमा परेको खबर फैलियो । ‘झुलुङ्गे पूलको के कुरा भयो र ? पक्की पूल नै तत्काल बनाइन्छ ।’ सांसद संजय गौतम र सन्तराम थारुले संचारमाध्यम र भेटघाटमा आश्वासन दिए । साढे दुई बर्ष बितिसक्दा पनि पक्की पूल त के झुलुङ्गे पूलसमेत बन्ने कुनै संकेत देखिएन ।
पदनहाका पूर्वअध्यक्ष शर्मा भन्छन्, ‘स्थानीय मन्त्रालय अन्र्तगतको डोलिडारका प्रतिनिधि झुुलुङ्गे पूलको सर्वेक्षणका लागि आएका थिए । पूल बनाउने ठाऊँमा ७ वटा रुख परेको भन्थे । बाँकी प्रक्रिया के भयो ? थाहा भएन ।’
सर्वेक्षण गरेर फर्केको पनि महिनौँ वितिसक्यो । पूल निर्माण हुने संकेत केही देखिएको छैन । सरकारले तत्काल पुननिर्माण गर्छौँ भनेको पनि ३० महिना पुगिसक्यो । ‘तत्काल भनेको सरकारी भाषामा कति बर्ष हो बुझ्न सकिएन । यहाँ बाढी आउँदा ढुँगा चल्दैन । बिरामी भए हल न चल हुने स्थिति छ ।’ बडघर तुल्सीराम थारु दुःख बिसाउँछन् ।
यसअघि झुलुङ्गे पूल बनाउँदा पनि रुख परेको थियो । माओवादी युद्धको राप र तापले जनतालाई राज्यसँग बिद्रोह गर्न सिकाएको थियो । जनताले रुख आफैँ काटेपछि पूल निर्माण गर्न सहज भएको थियो । अहिले परिस्थिति फेरिएको छ । बिद्रोही नेता प्रचण्ड आफैँ प्रक्रियामुखी राज्य संयन्त्रको कमाण्डर बनेका छन्, जनतामा बिद्रोहदेखि डर लाग्ने परिस्थितिको सृजना भएको छ । स्थानीय कुसुम्बादेबी निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेल भन्छन्, ‘डोलिडारले टिप्पणी उठाएर वातावरण मन्त्रालय र बन मन्त्रालयमा पठाउनुपर्दछ भन्ने सुनिएको छ । बन र बाताबरणले स्विकृति दिएपछि मन्त्रिपरिषद्बाट स्विकृति लिनुपर्दछ । मन्त्रिपरिषद्ले स्विकृति दिने बेलासम्म जुग बित्नसक्छ ।’
पूल र राजनीति
कुसुम्बाघाटको पूल भोट माग्ने माध्यम बन्दै आएको छ । कुसुम्बाटमा पक्की पूल बनाउने भन्दै एमालेले २ पटक संसदीय निर्वाचन जित्यो । काँग्रेसले दुई पटक बाजी मार्यो । माओवादीले पहिलो संविधानसभामा सर्लक्कै भोट तान्यो । दोस्रो संविधानसभामा काँग्रेस उम्मेदवार संजय गौतमले कुसुम्बाघाटमा पूल र कुसुम्बाघाट रम्बापूर बाटो पीच गर्ने भन्दै भोट मागे । सुशील कोइराला निकट मानिने गौतमले कोइराला प्रधानमन्त्री हुँदा पूल पार्छन कि भन्ने आशा त्यसै बिलायो । खिलराज रेग्मी नेतृत्वको पालामा परेको झोलुङ्गे पूलपनि नदीले बगायो ।
प्रधानमन्त्री प्रचण्ड आफैँपनि पदनहाको पीडाका बारेमा जानकार छन् । उनको सचिवालमा रहेका अधिकांशले पदनहामा भुमिगत जीबन बिताएका थिए । पदनहासँग जोडिएको बनियाभार गाविसका स्थानीय तथा क्षेत्र नम्बर तीनका सांसद एंव माओवादी केन्द्रका नेता सन्तराम थारुका अनुसार जनयुद्धको शुरुवाती समयमा प्रचण्ड बारम्बार कुसुम्बाघाट वारपार गरेका थिए । माओवादीले पदनहा, बनियाभारलगायतका ठाऊँमा विकासको सपना देखाएर संगठन विस्तार गरेको थियो ।
थारुहरुको बाहुल्यता रहेका यि क्षेत्रका जनतालाई माओवादी प्रश्न गथ्र्यो, ‘अरु कस्ता कस्ता ठाऊँ विकास भइसक्यो । यो ठाऊँ भएन । हिजो जमिन्दारले शोषण गरे । आज थारु वस्ती भएकाले हेपियो । ताराताल, सानोश्रीजस्ता बगर ठाऊँको विकास त्यस्तो भयो, पदनहाजस्तो उर्बर भूमीको यो हाल किन भयो ?’
यस्तै प्रश्न गरेर माओवादीले पदनहा, बनियाभारलगायतका ठाऊँमा बिद्रोहको भावना पैदा गरेको थियो । प्रचण्ड दोहोराएर प्रधानमन्त्री भएका छन् । पदनहावासी प्रश्न गर्छन्, ‘सातवटा रुख काट्न पर्ने भएकाले पूल बन्न ढिला भएको सुनिन्छ । प्रधानमन्त्रीज्यू रुख काट्न कति बर्ष लाग्छ ?’
Bardiya Padnahawa Jholunge Pul in Bardiya Nepali Politics politics