अंगीकृतलाई प्रधानमन्त्री बनाउने मस्यौदा यसरी गएको थियो मिडियामा
कात्तिक २२ । केही दिनदेखि सरकारका तीन मन्त्रीहरु संविधान संशोधनको मस्यौदामा व्यस्त थिए । उनीहरुले सिमांकन, नागरिकतालगायत विषयमा केही प्रस्ताव पनि तयार पारेका थिए ।
आन्तरिक रुपमै छलफलमा रहेको त्यो मस्यौदा सरकारका ती मन्त्रीहरुले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई दिए । कर्णले अंगीकृत नागरिकको अधिकारमा आफ्नोतर्फबाट केही थपे । जसमा ६३ सालको संविधानमा वैवाहिक अंगीकृतकालागि राखिएको अधिकारसमेत राखेर सबै अंगीकृतहरुलाई १० वर्षपछि वंशजसरह अधिकार दिने विषय मस्यौदामा विषय थप गरे ।
त्यो मस्यौदाको प्रतिलिपि सदभावनाकै महासचिव मनिष सुमन र सहअध्यक्ष लक्ष्मणलाल कर्णले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएको विषय बाहिर आएको छ ।
यस्तो विषय आएपछि हामीले शुरुमै सद्भावनाका महासचिव मनिष सुमनसँगसम्पर्क गर्यौं । उनले विषयबारे स्पष्ट पार्दै भने, ‘यस्तै कुरा उपेन्द्र यादवको प्रेस संयोजक महेश चौरसियाले लेख्नु भएको छ । मलाई लाग्छ, यो अफवाह फैल्याउने काम पनि उहाँले नै गर्नुभएको हो ।’
महामसचिव सुमनले भने, ‘कात्तिक १४ गते सरकारसँग मोर्चाको छलफल भएको हो । त्यसको दुई दिनपछि राजेन्द्र महतोसँग प्रधानमन्त्रीले टेलिफोनमा वार्ता पनि गर्नुभएको हो । हामीले कुनै कुरा लुकाएका छैनौं । तर मस्यौदाको विषय हामीलाई थाहा छैन ।’
मस्यौदाको प्रतिलिपि नयाँ शक्तिका बाबुराम भट्टराई कहाँ पनि पुगेको बताइएको छ । महासचिव सुमनले प्रश्न गरे, ‘संशोधनसँग सरोकार नै नभएको व्यक्तिभए ठाउँ मस्यौदा किन पुग्छ ? यस्ता विषयहरुले पनि यो विषय प्रायोजित हो भन्ने लाग्छ । ’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाको स्टाटस
मस्यौदाको खेस्रा अनौपचारिक ढंगले हेर्छु भनेर माग्ने र दुई बुँदा थपथाप गरी सद्भावना पार्टीका एक जना नेताले हतार हतारमा मिडियामा सार्वजनिक गरेको बुझियो । स्रोतका अनुसार सरकारका एक जना मन्त्रीले अनौपचारिक रुपमा हेर्न मस्यौदाको चार बुँदे त्यो खेस्रा तपलोपा नेता हृदयेश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्ण र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पठाएका रहेछन् । तर, कसैसँग छलफल नै नगरी अंगिकृत नागरिकलाई संवैधानिक पदको सुनिश्चिता सहित दुई बुँदा थप गर्दै लक्ष्मणलाल कर्णको सहमतिमा सद्भावना पार्टीका एक नेताले सो खेस्रा मिडियालाई पठाए । जसको न कुनै अर्थ रहेन ।
दिनभर चर्चामा रहेको मस्यौदालाई सरकार र मोर्चा दुवैले खण्डन गरिसकेका छन् । विगत झैं सद्भावना पार्टीका नेताहरुले गर्दै आएको तिकडम, बितण्डा, स्टन्ट र नौटंकीको यो एउटा ताजा नमूना मात्रै हो । यस्तो कार्यले प्रष्ट छ, सरकारमा जान कति हतार रहेछ । पानी बिनाको माछो, गच्छदारको गोतियार जस्तै ।