फेसबुक पोष्टले गर्दा सांसद् जेलमा
कात्तिक–२२ । फेसबुकमा पोष्ट गरेको कारण सांसद्लाई समेत जेल सजायको फैसला आयो । सुन्दा अनौठो लाग्छ किनकि सांसदहरुले नियमित पोष्टहरु गरिरहेकै हुन्छन् ।
यो घटना कम्बोडियोको हो । कम्बोडियोको एक अदालतले सोमबार विपक्षी दलका एक सांसदलाई फेसबुकमा पोष्ट गरेकै कारण सात वर्षको जेल सजाय सुनाएको छ । अदालतले कम्बोडिया नेशनल रेस्क्यु पार्टीका सदस्य हंग सोक हाउरमाथि उक्त फैसला गरेको हो ।
हाउरलाई सन् २०१५ मा सन् १८६९ को सीमासम्बन्धी कम्बोडिया र भियतनामबीच भएको सन्धिको आशयको कपी फेसबुकमा पोष्ट गरेको अभियोगमा उक्त सजाय गरिएको हो । कम्बोडियाका प्रधानमन्त्री हन सेनले हाउरलाई विद्रोह गरेको तथा उक्त सन्धिको कीर्ते गरेको आरोप लगाएका छन् ।
कम्बोडिया नेशनल रेस्क्यु पार्टीकै अर्का सांसद्ले भने कम्बोडियाको अदालती व्यवस्थामा नै कमजोरी रहेको टिप्पणी गरेका छन् । उनले अदालतले सबै कम्बोडियालीप्रति समान न्याय दिन नसकेको भन्दै हाउरलाई गरिएको अन्याय एक उदाहरण भएको बताएका छन् ।
गत महिना मात्रै अर्का विपक्षी कानुन निर्माता उम साम अनलाई साढे दुई वर्ष जेल सजायको फैसला गरिएको थियो । उनीविरुद्ध पनि भियतनामसँगको सीमाको बारेमा अनलाइनमा लेखविचार पोष्ट गरेको अभियोग लगाइएको थियो । आलोचकहरुले यसलाई विपक्षलाई दबाउने सरकारको कार्यको उदाहरण भनी यसप्रति प्रतिक्रिया दिएका छन् ।
Jail