रोजगार

उद्योग मन्त्रालयले पचास हजार रोजगारी सिर्जना गर्ने

उद्योग मन्त्रालयले पचास हजार रोजगारी सिर्जना गर्ने
कात्तिक - २८ । उद्योग मन्त्रालयले विभिन्न सीप र उद्यममार्फत ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने जनाएको छ । कार्ययोजनाको कार्यान्वयनका बारेमा जानकारी गराउँदै मन्त्री नवीन्द्रराज जोशीले तत्काल ११ हजार ४५० जनालाई छ महिनाभित्र रोजगारीका लागि तयार गर्ने बताए। मन्त्री जोशीले पद सम्हालेपछि गत भदौ २६ गते समयसीमा निर्धारण गरी मन्त्रालयका कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । कार्ययोजनाको कार्यान्वयनका बारेमा आज मन्त्रालयले पत्रकार सम्मेलन गरी उल्लेख्य प्रगति भएको जनाएको छ । मन्त्री जोशीले नेपालका स्वदेशी तथा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेको बताउँदै आगामी फागुन १९ र २० गते नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्ताको सम्मेलन गरिने जानकारी गराए। मन्त्रालयले नीतिगत तथा कानुनी संरचना प्रक्रियागत, लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धन, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र स्थापना र विस्तारलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको जनाएको छ । मन्त्री जोशीले बन्द भएका सार्वजनिक उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै भने, “त्यस्ता उद्योग सार्वजनिक–निजी साझेदारी मोडेलमा सरकारलाई आर्थिक भार नपर्ने गरी सञ्चालन हुन्छन् ।” मन्त्रालयले हाल प्रत्येक महिनाको अन्तिम शुक्रबार दुई घन्टा उद्योगका समस्या र गुनासो सुनुवाइ गर्ने र नयाँ अन्वेषणकाबारेमा सरोकारवालासँग छलफल गर्ने गरेको छ । मन्त्री जोशीले नेपाल औषधि कम्पनी लिमिटेड पुनः सञ्चालनको अन्तिम तयारीमा रहेको बताउँदै हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सुरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी, विद्यार्थी र शिक्षकको ड्रेस आपूर्ति गर्नेगरी पुनः सञ्चालन हुने जानकारी दिए । मन्त्रालयले घरेलु तथा साना उद्योगलाई बैंकबाट सहज र सहुलियतमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जनाएको छ । रासस

nabindra raj joshi

विशेष