राजनीति

चैनपुर–ताक्लाकोट नाका खोल्न चीन सरकारसँग वार्ता गर्छु – प्रधानमन्त्री

चैनपुर–ताक्लाकोट नाका खोल्न चीन सरकारसँग वार्ता गर्छु – प्रधानमन्त्री

मंसिर - २ । प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुराकानी गर्ने बताएका छन् ।

बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको महत्वपूर्ण नाकाको रुपमा रहेको ताक्लाकोट नाका खोल्न पहल गर्ने बताएका हुन् ।

प्रतिनिधिमण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै उहाँले सम्बन्धित मन्त्रालय र विभागका अधिकारीलाई बोलाएर यसबारे छलफल गर्ने र चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुरा गर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सर्वदलीय टोलीले प्रधानमन्त्रीसँग भेट गरी जिल्लाका विकास निर्माण र जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको हो ।

सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादनमा ह्रास आएकोतर्फ ध्यानाकर्षण गराउँदै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । टोलीले जिल्ला दैवी प्रकोप उद्धार कोषमा केन्द्रबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । रासस

Prachanda

विशेष