राजनीति

अनेरास्ववियुको कार्य विभाजन विवाद कायमै

अनेरास्ववियुको कार्य विभाजन विवाद कायमै
मंसिर - ४ । नेकपा (एमाले) निकट अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद अझै मिल्न सकेको छैन । पार्टीले अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिए पनि विवाद अझै नमिलेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले शनिबार जानकारी गराए। विवाद मिलाउन पटक–पटक बैठक बसे पनि मिल्न नसकेको उनले बताए। विवादका कारण महाधिवेशन भएको आठ महिना भएपनि अखिलका सचिवालय र केन्द्रीय सदस्यको कार्यविभाजन अझै हुन सकेको छैन । अनेरास्ववियुको विधानअनुसार १५ विभाग हुने व्यवस्था भए पनि अध्यक्ष नवीना लामाले २२ विभाग गठन गरेपछि विवाद भएको थियो । अध्यक्ष लामाले विवाद मिलिसकेको भन्दै महासचिव ऐन महर बाहिर रहेकाले पूर्णता दिन नसकेको बताए । “बाइसवटा विभागबाट विधानअनुसार १५ विभागमा झारेर विवाद मिलाइएको छ”– उनले भने, “अब चाँडै पदाधिकारी बैठकबाट कार्य विभाजनको विवाद मिलाउँछौँ ।” कार्य विभाजनसम्बन्धी अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच विवाद हुँदा अझै समाधान हुन नसकेको हो । महरले एकपक्षीय रुपमा अध्यक्ष लामाले कार्य विभाजन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष लामाले सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्य विभाजन भएपछि पदाधिकारी र प्रदेशको विभाजन गरिने बताए । रासस

ANERASOBIU

विशेष