राजनीति

द्विपक्षीय सम्बन्ध विस्तारको लक्ष्यका साथ परराष्ट्रमन्त्री अष्ट्रेलिया जाँदै

द्विपक्षीय सम्बन्ध विस्तारको लक्ष्यका साथ परराष्ट्रमन्त्री अष्ट्रेलिया जाँदै
मंसिर - ७ । परराष्ट्रमन्त्री प्रकाशशरण महत अष्ट्रेलियासँगको सम्बन्धलाई अझ सुदृढ, सुमधुर र समुन्नत तुल्याउने लक्ष्यका साथ मंगलबार साझ अष्ट्रेलियाको पाँचदिने भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार अपराह्न पत्रकारसम्मेलन गरेर उनले जानकारी दिएका हुन् । पत्रकारसम्मेलनमा उनले भने , “मुलुकको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अष्ट्रेलियासँग द्विपक्षीय एवम् बहुपक्षीय वार्ताका लागि मेरो भ्रमण हुन लागेको हो ।” मुलुकको परराष्ट्र सम्बन्धलाई अझ बृहत्तर, सुदृढ र राष्ट्रमुखी तुल्याउन सरकार क्रियाशील रहेको र त्यसैलाई निरन्तरता दिने सन्दर्भमा आफू अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जान लागेको उनले बताए। अष्ट्रेलियामा रहँदा आफूले आफ्ना समकक्षी जुली विसप, अन्तर्राष्ट्रिय विकास सहायता, पूर्वाधार, यातायात तथा क्षेत्रीय विकास, जलवायु परिवर्तन तथा ऊर्जा, सूचना तथा सञ्चार, राष्ट्रिय सुरक्षामन्त्री, आप्रवास तथा सीमा सुरक्षामन्त्री, विपक्षी दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी मन्त्री महतले दिए । “अष्ट्रेलियाका सबै उच्चअधिकारीहरूसँगको भेटमा प्रत्यक्ष वैदेशिक लगानी, सहयोगका क्षेत्र विस्तार र सहायताका थप क्षेत्र र अवसरको खोजीका साथै नेपालमा लगानीको वातावरणबारे विशद् विचारविमर्श हुनेछ,” द्विपक्षीय वार्ताको कार्यसूची सुनाउँदै उनले भने । अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका धेरै विषयमा नेपाल र अष्ट्रेलियाबीच साझा एवम् समान अवधारणा रहेकाले ती मामिलासहित नेपालमा अधिक सहायता जुटाउने बारेमा पनि वार्ता केन्द्रित रहने मन्त्री महतले बताए। आगामी शनिबार सिड्नीमा आयोजना हुने नेपाल महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुने तथा नेपाली समुदायसँग उनीहरूले मातृभूमिको विकासका निम्ति गर्न सक्ने योगदानबारे पनि छलफल गर्ने उनले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माण, वन, ग्रामीण भेगका जनताको जीविकोपार्जनलगायत नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग पुग्ने विविध परियोजनामा अष्ट्रेलियाले निरन्तर सहयोग गर्दै आएको सन्दर्भमा भविष्यमा अझ धेरै सहायता जुटाउने र पारस्परिक सहकार्य अभिवृद्धिबारे पनि आफूले अष्ट्रेलियाली सरकारसँग वार्ता गर्ने मन्त्री महतले बताए। अष्ट्रेलियासँगका थप सहायता क्षेत्र विस्तारबारे जानकारी दिँदै उनले भने, “अष्ट्रेलियाले नेपालमा स्वयम्सेवक परिचालन गर्न प्रस्ताव गरेको र समझदारीपत्रको मस्यौदासमेत पठाएको छ” अष्ट्रेलियाको भ्रमण पूरा गरी न्युजिल्यान्ड प्रस्थान गर्ने आफ्नो कार्यक्रमबारे जानकारी दिँदै उनले हालैको भूकम्पका कारण अझै जोखिम रहेको र त्यसको मूल्याङ्न जारी रहेकाले त्यहाँ हुने भेटवार्ताबारे भने स्पष्ट कार्यतालिका निर्धारण भइनसकेको बताए । एक प्रश्नको जवाफमा उनले अष्ट्रेलियालगायत राजदूत नियुक्त गर्न बाँकी रहेका देशमा चाँडै नै नियुक्ति गरिने बताए । साथै उनले चीनसँगको यातायात तथा पारवहन सन्धिबारे हालै ल्हासामा प्रारम्भिक वार्ता भएको जानकारी दिए ।

Dr Prakash Saran Mahat dr prakash sharan mahat prakash sharan mahat

विशेष