राजनीति

एमाले नमाने पनि अब बाँकी सबै दल मिलेर संविधान संशोधनको तयारी गर्ने

एमाले नमाने पनि अब बाँकी सबै दल मिलेर संविधान संशोधनको तयारी गर्ने

tin-dal

मंसिर ८ । सत्तारूढ माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुअघि आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग सहमतिको अन्तिम कसरत गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी एमालेसँग संशोधन प्रस्तावमा सहमति नजुटेपछि सत्तारूढ दुई दलले गठबन्धनका नेताहरूसँग साझा प्रस्ताव तयारीको कोसिस गर्ने निर्णय लिएका हुन् ।

तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूहरूलाई बोलाइएको जानकारी दिए । ‘संशोधन प्रस्तावलगायत विषयमा छलफल गर्न उहाँहरूले खबर गर्नुभएको छ,’ ठाकुरले भने, ‘बैठकमा सत्तापक्षधर पार्टीहरूका तर्फबाट आउने प्रस्ताव बुझेपछि मात्रै हामी आफ्नो राय दिन्छौं । अहिलेलाई हाम्रा जे मागहरू छन, ती यथावत् नै छन् ।’

संशोधन प्रस्तावको मस्यौदामा गठबन्धन तयार नभए एकतर्फी रूपमा अघि बढ्ने कांग्रेस र माओवादी केन्द्रको तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान निर्माणका सहयात्री दलहरूबीच संशोधन प्रस्तावमा सहमतिका लागि प्रयास अन्तिम चरणसम्मै जारी रहने भन्दै कुराकानी गरिरहेको बताए ।

‘संविधान जारी गर्दा हामीले पर्याप्त लचकता देखाउँदै अघि बढ्ने संकल्प गरेका थियौं, आज त्यसको व्यावहारिक प्रयोग चाहिएको छ,’ दाहाललाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘मैले त्यसैका लागि हिजो (सोमबार) र आज (मंगलबार) प्रयास गरेको छु । भोलि (बुधबार) पनि हामी एकपल्ट सहमतिको कोसिस गर्छाैं ।’ मोर्चासँग सहमति जुटे बुधबार नै संशोधन प्रस्ताव अघि बढाउने सरकारी तयारी छ । गठबन्धनभित्रकै एक नेता उपेन्द्र यादवले भने आफूहरूसँग सहमति नगरी ल्याइने संशोधन प्रस्तावको कुनै अर्थ नहुने तर्क गर्दै आएका छन् । –कान्तिपुर दैनिकबाट

विशेष