राजनीति

‘संविधान संशोधनले राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने’

‘संविधान संशोधनले राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने’
मंसिर - १० । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्। प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा भएका बताए । उनले भने, “संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ, यसको मानक परिभाषा सुन्ने मन छ ।” ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताए । सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले गोरखापत्रले आफूलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । चौतारीका अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकारको हकहितका लागि आफ्नो सङ्गठन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थालाई सेवा उद्योगका रुपमा विकसित गर्ने तयारी भएको जानकारी दिए । कार्यक्रममा शाखाले पाँच हजार एक राशिसहितको पुरस्कार ‘द राइजिङ नेपाल’का सम्पादक परमेश्वर देवकोटालाई प्रदान गरेको थियो भने संस्थानका नवनिर्वाचित अध्यक्ष गोविन्द पोखरेललाई सम्मान गरेको थियो । शाखाका निवर्तमान अध्यक्ष अजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष नारद गौतम र चौतारीका सो शाखाका इन्चार्ज प्रकाश सिलवाल लगायतले अधिवेशन सफलताको कामना गरेका थिए।

pradip gyawali

विशेष