राजनीति

संशोधनले कार्यान्वयनमा जटिलता थप्ने: अध्यक्ष केसी

संशोधनले कार्यान्वयनमा जटिलता थप्ने: अध्यक्ष केसी
मंसिर - ११ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले मुलुकमा संविधान संशोधन देश र जनताको हितमा नरहेकाले त्यस प्रक्रियामा जान नहुने बताएका छन् । पार्टीको काठमाडौँ जिल्ला समितिले शनिबार प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभामा अध्यक्ष केसीले संविधान संशोधन कार्यले संविधानको कार्यान्वयनको प्रक्रियालाई जटिल बनाउने बताए । विभिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा सङ्घीयता कायम गर्न नहुने भनेर आफ्नो पार्टीले विसं २०६५ मा तत्कालीन संसद्मा सुझाएको बताउँदै उनले भने – “संविधानअनुसार प्रदेशको समर्थनबिना सीमाङ्कन हुन सक्दैन, राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्वको व्यवस्था छ, त्यसैगरी भाषा र नागरिकताको विषयमा संविधान लचिलो छ ।” पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले मुलुकमा वैदेशिक हस्तक्षेप बढेका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता सङ्कटमा रहेको विचार व्यक्त गर्दै संविधान संशोधनले देश टुक्रिन सक्ने खतरा औँल्याए । देशमा सबै नेपालीको एकतालाई कायम गराउन हिमाल, पहाड र तराईलाई एक अर्काबाट छुट्टयाउन नहुने उनकाे भनाइ थियाे । पार्टीको काठमाडौँ जिल्ला समितिका अध्यक्ष लालबहादुर थापाले संविधान संशोधनविरुद्ध देशभर अभियान सञ्चालन गरिने जानकारी दिए ।

Chitra Bahadur KC

विशेष