एमाले विपक्षमा उभिए पनि प्रस्ताव पारित हुन्छः अध्यक्ष ठाकुर
मंसिर - १३ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि मात्र मधेसवादी दलको स्पष्ट धारणा सार्वजनिक हुने बताएका छन् ।
अवधि पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “संविधानका केही प्रावधानको विरोध गर्दै संयुक्त मधेसी मोर्चाले अघि सारेका माग संशोधन प्रस्तावमा आएमा सहमतिमा पुग्न सकिन्छ, अन्यथा आन्दोलनको विकल्प छैन ।”
अध्यक्ष ठाकुरले एक हातमा बन्दुक र एक हातमा संशोधन प्रस्ताव ल्याउन खोजिए त्यो कदापि मान्य नहुने बताउँदै अहिले ल्याउन लागिएको प्रस्तावमा के–के माग समेटिएका छन, यसबारे आफूलाई थाहा नभएकाे बताए ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले नागरिकताका विषयमा दुष्प्रचार गरिएको स्पष्ट पार्दै मोर्चाले वैवाहिक नागरिकताको मुद्दा मात्र उठाएकाे जानकारी दिए । २०४७ को संविधान र २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था गरिएको वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थालाई निरन्तरता दिन आफूहरुकोे माग रहेको पनि उनले स्पष्ट पारे ।
अर्को प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्तावमा नेकपा (एमाले) विपक्षमा उभिए पनि प्रस्ताव पारित हुने दाबीसमेत गरे।
Mahanta Thakur