पार्टी छाडदिनँ तर संविधान संशोधनको विपक्षमा भोट हाल्छु– टोपबहादुर
मंसिर १५ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रदेश सिमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव आफूलाई मान्य नभएको बताएका छन् । उनले सरकारले ल्याएको यो प्रस्तावको विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।
मतदानका बेला पार्टी ह्वीप लाग्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो विषय अरु बेला जस्तो सामान्य होइन । संविधानको कुरा भनेको जनताले निर्णय गर्न पाउने स्वतन्त्र विषय हो । यसकारण यो संविधान संशोधनको विपक्षमा भोट हाल्छु, तर म पार्टी छाडदिनँ । ’
नेता रायमाझीले प्रदेश नम्बर पाँचका पहाडी जिल्ला टुक्रयाएर प्रदेश नम्बर चारमा जोड्ने माग आन्दोलनकारी मधेसी मोर्चाको पनि नरहेको बताएका छन् । उनले भने, ‘यस्तो माग मधेसी मोर्चाको पनि होइन । त्यो क्षेत्रका जनताको पनि होइन । भनेपछि यो सरकारले कस्को एजेन्डा बोकेर संशोधन प्रस्ताव दर्ता गरेको हो ? जवाफ दिनु पर्छ ।’
मधेसी मोर्चाले माग्दै आएको तराईमा दुइ प्रदेशको माग पनि यसबाट पूरा नहुने उनको तर्क छ । पूर्वी तराईका तीन जिल्ला र सुदुरपश्चिमका कैलाली कञ्चनपुर अहिले पनि पहाडी प्रदेशसँगै छन् । त्यसमाथि चितवन र दाउन्नेपूर्वको भाग पनि पहाडी प्रदेशमा छन् । यस हिसाबले तराई पाँच प्रदेशमा विभक्त छ–रायमाझीले भने ।
सरकारले सीमांकन बारे ल्याएको यस्तो प्रस्तावले नयाँ आन्दोलन, नयाँ द्वन्द्वको शुरुवात हुने उनले बताए । रायमाझीले भने, ‘पाँच नम्बर प्रदेशका जनताले यस्तो सीमांकन भएन भनेकै छ्रैनन् । विवाद भएकै छैन । पाँच नम्बर प्रदेशलाई चित्त बुझाएर जनता बसिरहेका छन् । सरकारले भने त्यो चित्त बुझाइलाई बिथोल्न कार्ड फालिरहेको छ ।’