राजनीति

डा. भट्टराईलाई संसद सदस्यमा मनोनित गर्ने तयारी

डा. भट्टराईलाई संसद सदस्यमा मनोनित गर्ने तयारी

Dr Baburam Bhattarai

मंसिर १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सांसद पदमा मनोनीत गर्ने प्रयास भइरहेको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार मन्त्रिपरिषद्मा यो प्रस्ताव कसरी प्रवेश गराउने भन्ने बिषयमा छलफल भइरहेको छ र डा. भट्टराईलाई चाँडै नै मन्त्रिपरिषद्को बैठकले सांसद पदमा नियुक्त गर्न लागेको जानकारी प्राप्त भएको छ ।

संबिधानसभामा मन्त्रिपरिषदले नियुक्त गर्ने सांसदमध्ये एकजना नियुक्त गर्न बाँकी छ । सो खाली ठाउँमा डा. भट्टराईलाई नियुक्त गर्न मधेसी मोर्चामा आवद्ध दलहरुसहित प्रमुख राजनीतिक दलहरु सहमत भएको बुझिएको छ । डा. भट्टराई अहिले नयाँ शक्ति पार्टीका संयोजक हुन् । भारतले नेपालमाथि नाकाबन्दी गरेर पूरै मुलुक तहसनहस पार्दा डा. भट्टराईले माओवादी पार्टी र सांसद पद परित्याग गरेको घोषणा गरेका थिए ।

गोरखा जिल्लाबाट सांसद पदमा निर्वाचित भट्टराईलाई नयाँ शक्तिको संयोजकको रुपमा नभएर लब्ध प्रतिष्ठित व्यक्तित्वको रुपमा मनोनीत गर्न लागिएको बताइन्छ । यो प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत छन् । यस सम्बन्धमा डा. भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग बार्ता गरेको जानकारी प्राप्त भएको छ ।

राजनीतिक वृत्तमा यस्तो चर्चा चले पनि नयाँ संवैधानिक प्रावधानका कारण यो नियुक्तिको सम्भावना निक्कै कम छ । किनभने विभिन्न कारणले अहिले धेरैवटा संसद पद रिक्त छन् । त्यहाँ नियुक्त गर्न कानुनी उल्झन रहेको छ ।

विशेष