संविधान संशोधन प्रस्ताव फेल हुन्छ: मन्त्री पाण्डे
मंसिर - १८ । भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गरेका छन् । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आएका मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उनकाे भनाई थियाे ।
“सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ ?”उनले प्रश्न गरे ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोपसमेत लगाए ।
सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दाबी गरे।
राप्रपा र राप्रपा नेपालको एकीकरणले देशमा राष्ट्रवादी शक्तिको मनोवल उच्च राखेको भन्दै मन्त्री पाण्डेले आगमी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताए। रासस
विक्रम पाण्डे
संविधान संशोधन विधेयक