राजनीति

यो देशमा के के पनि हुँदो रहेछ, भारतीय दूतले भनेपछि सबै माग छाडेर मोर्चा सहमतिमा आउने भयो

यो देशमा के के पनि हुँदो रहेछ, भारतीय दूतले भनेपछि  सबै माग छाडेर मोर्चा सहमतिमा आउने भयो

मंसिर १९ । आफ्नो माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरू लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार आश्वस्त गरेका छन् ।

शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाई उनीहरूको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी मधेसीहरूले लचकता देखाएको भन्दै तत्काल उनीहरूसँग वार्ता गर्न आग्रह गरेका थिए । रेकै सुझावअनुसार दाहालले शनिबार साँझ मधेसी नेताहरूसँग बैठक गरेपछि मोर्चाको सुरक्षित अवतरण र प्रतिष्ठाका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्ने सहमति भएको स्रोतले उल्लेख गरेको छ । बिहान दूतावास र बेलुका प्रधानमन्त्री निवासमा भएका छलफलमा सहभागी एक नेताका अनुसार राजदूत रेले संशोधनका पक्षमा एमालेको समर्थनसमेत जुटाइदिने आश्वासन दिएपछि प्रधानमन्त्री थप आश्वस्त भएका छन् । राजदूत रेकै सल्लाहअनुसार प्रधानमन्त्रीले साँझ ६ बजेदेखि एक घन्टासम्म मधेसी मोर्चाका नेताहरू तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवसँग भेट गरेका थिए । स्रोतका अनुसार मधेसी नेता त्रयले आफूहरू संशोधन प्रस्तावको विपक्षी नरहेको तर मधेस आन्दोलनलाई सुरक्षित अवतरण गर्न सक्ने गरी संसद्मा रहेको प्रस्ताव परिमार्जन गर्न आग्रह गरेका थिए । मधेसी नेताहरू राजदूत रे र दाहालसँग भएको गोप्य वार्ताबारे बैठकमा राखेरमात्र ठोस जबाफ दिने भन्दै बालुवाटारबाट फर्केको जानकारी स्रोतले दियो । प्रधानमन्त्रीसँग भेटबारे जानकारी दिँदै तमसपाका अध्यक्ष यादवले भने, ’प्रधानमन्त्रीसँगको लामो कुराकानी संशोधन प्रस्ताव परिमार्जन गर्ने विषयमा केन्द्रित रह्यो ।’ यसका लागि मोर्चा र सत्तापक्षले आआफ्नो समूहमा परामर्श गरी पुनः भेट गर्ने सहमति भएको जानकारी यादवले दिए । सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश छुट्याएको विरोधमा पश्चिम नेपालका कतिपय क्षेत्र चार दिनदेखि अशान्त छ । मधेसी मोर्चाका शीर्ष नेताहरूसँग बिहान रेले प्रश्न गरे, ’संविधान संशोधननमा तपाईंहरू सहमति वा आन्दोलन कुन डिजाइनमा हुनुहुन्छ ? ’ भारतीय दूतावास लैनचौरमा पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरू तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भवाना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग राजदूत रेले सरकारले ल्याएको संशोधन प्रस्तावमा तपाईंहरूको धारणा के हो भनी प्रश्न गरेका थिए । राजदूत रेले ’तपाईंहरू असन्तुष्ट हुँदै आन्दोलनमा जाँदै हुनुहुन्छ भन्ने कुरा के हो ? ’ भनी मधेसी नेताहरूसँग प्रश्न राखेका थिए । एक शीर्ष नेताले राजदूत रेसँग भएको भेटबारे भने, ’उनले संशोधनका विविध पक्षमा प्रश्न राख्नुको उद्देश्य सत्ता पक्ष (सरकार) बाट आएको गुनासोलाई कूटनीतिक रूपमा बुझ्न खोजेको पायौं ।’ –अन्नपूर्ण पोस्ट्बाट

विशेष