एमालेले ल्यायो काउन्टर प्रस्ताव, ‘हिमालदेखि तराईसम्मको भुभाग समेटेर सात प्रदेश बनाउने, प्रदेश नम्बर २ पनि तराईमात्र नरहने’
नेकपा एमालेले हिमाल, पहाड र तराई जोडेर नयाँ प्रादेशिक खाका बनाउनुपर्ने प्रस्ताव गरेको छ । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले हिमालदेखि तराईसम्म जोडिएका सात प्रदेशसहितको एजेण्डासहित एमाले चुनावमा जाने बताएका छन् । उनले तराईका जिल्लामात्र राखेर बनाइएको प्रदेश नम्बर २ को खाका परिवर्तन गरिने बताएका छन् । उनले प्रदेश नम्बर २ लाई हिमालसम्म जोडेर नयाँ प्रादेशिक खाका बनाउने बताए । उनले देशलाई टुक्राउने योजनासहित सो प्रदेश बनाइएकाले एमालेले नयाँ प्रस्ताव ल्याएको बताए । ‘सके अहिले नै परिवर्तन गर्ने, नसके चुनावमा यही एजेण्डा लिएर जाने र परिवर्तन गर्ने एमालेको निष्कर्ष छ ।’ नेपाल आजसँग कुरा गर्दै गौतमले भने । प्रदेश नम्बर २ मा तराईका जिल्लामात्र राख्न सहमत भएर एमालेले गम्भीर त्रुटी गरेको गौतमको भनाइ छ । उनले बर्दियादेखि नवलपरासी र सप्तरीदेखि पर्सासम्मका तराईका जिल्ला राखेर २ प्रदेश बनाउने भनि एमालेले गरेको प्रस्ताव भूलवश भएको जनाए । ‘हामी षडयन्त्रको शिकार भएका रहेछौँ । अब त्यो एजेण्डा हाम्रो होइन । हामीले छोडेको एजेण्डा तिमीहरुकै हो भनेर भन्न पाइन्न ।’ काँग्रेससँग मिलेर एमालेले ल्याएको संयुक्त खाकाको स्वामित्व लिन इन्कार गर्दै गौतमले भने । गौतमले हिन्दी भाषालाई संविधानको अनुसूचीमा समेत राख्न नसकिने स्पष्ट गरे । नेपालमा हिन्दी मातृभाषा भएको एक जना पनि नभएको उनको दाबी छ । नेकपा एमाले बामदेब गौतम