राजनीति

‘टेबलमा नबोल्ने, सडकमा राष्ट्रियता कुरा गर्ने ?’

‘टेबलमा नबोल्ने, सडकमा राष्ट्रियता कुरा गर्ने ?’
prakash-sharan-mahat मंसिर - २० । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विपक्षी दलले कूटनीतिकस्तरमा टेबलमा कुरा नगरी सडकमा राष्ट्रियताको कुरा चर्काएर राजनीतिक मुद्दालाई अतिरञ्जीत गरेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कर कार्यक्रममा उनले भने – सरकार र सत्तापक्षले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई विपक्षी दलले अतिरञ्जीत रुपमा चर्काएको छ । मन्त्री डा. महतले “पहिले यही सीमाङ्कनको प्रस्तावमा नेकपा (एमाले)ले हस्ताक्षर गर्ने अनि अहिले बेठिक भन्ने ?” भन्दै संविधान संशोधनको प्रस्तावलाई मधेस केन्द्रित र प्रमुख प्रतिपक्षी दल सबैले आत्मसात् गरेर निर्वाचनको बाटोमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । संविधान कार्यान्वयन गर्न र यसलाई सबैका लागि ग्रहण योग्य बनाउन संशोधनको प्रस्ताव ल्याएको बताउँदै उनले कतिपय असन्तुष्टिका बाबजुद निकासका लागि जोखिम मोलेर भए पनि सरकारले संविधान संशोधनको यो प्रस्ताव ल्याएको उल्लेख गरे । मन्त्री डा. महतले सङ्घीयताका सन्दर्भमा विविध मत आएको बताउँदै “ती सबै मतलाई समेट्न चुनौती छ, कतिपय आफ्नै असन्तुष्टिलाई समेत थाती राखेर प्रस्ताव ल्याएका हौँ भन्नुभयो ।” केही दल तत्कालीक लाभका लागि अतिरञ्जीत गरेर संशोधनका विरुद्धमा लागेकोमा दुःख व्यक्त गर्दै उनले भने, “आन्दोलनरत मधेस केन्द्रित दललाई सहमतिमा ल्याई निर्वाचन गर्न संशोधनको यो प्रस्ताव ल्याइएको हो ।” फरक प्रसङ्गमा मन्त्री डा. महतले बदलिँदो नयाँ परिवेशमा परराष्ट्र नीति परिमार्जन गर्न विज्ञ सम्मिलित टोली बनाई पुनःविचार गर्न तयारीमा आफू रहेको जानकारी गराए। रासस

डा प्रकाशशरण महत परराष्ट्रमन्त्री

विशेष