राजनीति

तराई–पहाड मिसाउनै हुँदैन भन्नेहरुले भारतका यी प्रदेश हेरुन्

तराई–पहाड मिसाउनै हुँदैन भन्नेहरुले भारतका यी प्रदेश हेरुन्

मंसिर २१ । नेपालमा पहाड र तराई मिसाएर प्रदेश बनाउन हुँदैन र हुन्छबीच ठूलो मतभेद छ । पहाड र समतल भूमि मिसाएर प्रदेश बनाउँदा के हुन्छ ? पहाडै पहाडको र तराई नै तराईको प्रदेश बनाउँदा के फाइदा हुन्छ ? यसको वैज्ञानिक जवाफ कसैसँग पनि छैन । तर नेताहरु भिडिरहेका छन् ।

पहाड र तराई वा समतल भूमि मिसाउनु हुँदैन भन्नेहरुका लागि भारतका केही राज्य उदाहरण बन्न सक्छन् । जातियता र पहिचानको कुरा गर्नेहरुले पनि केही उदाहरण हेर्नु उपयुक्त हुन्छ । भारतका धेरै प्रदेशमा पहाड र समतल भूमि मिसिएका छन् । कतिपय प्रदेशमा कसैको पनि पहिचान स्वीकार गरिएको छैन ।

भारतको असाम राज्यमा ६० प्रतिशत हिन्दु छन् भने ३५ प्रतिशत मुसलमान छन् । बाँकी अन्य धर्म मान्ने फरक फरक जातिका मान्छे छन् । ३५ प्रतिशत मुसलमानलाई किन हिन्दुसँग मिसाएर मुसलमानको क्लस्टर भत्काइयो भन्ने प्रश्न असाममा कसले गरिदेला ?

पहाड र समतल भूभागलाई जोडेर प्रदेश निर्माण गर्नु हुँदैन भन्नेहरुकालागि पनि असाम राज्य उदाहरण हुन सक्छ । असामका ३३ मध्ये ११ जिल्ला समतल नै छन् ।

भारतको उत्तरतिरको प्रदेश अर्थात उत्तर प्रदेश नेपालभन्दा झन्डै दुई गुणा ठूलो छ । जनसंख्यामा त ७ गुणा ठूलो छ । यो प्रदेशमा त कुनै जातिको पनि क्लस्टर छैन । यादवहरुको राजनीति खुबै चल्छ तर उत्तरप्रदेशमा यादवहरु जम्मा ८ प्रतिशत मात्रै छन् । नेपालमा जस्तो क्लस्टर भनेर प्रदेश निर्माण गर्ने हो भने उत्तर प्रदेशमा कम्तिमा २० वटा नयाँ प्रदेश बनाउनु पर्ने हुन्छ । किनकी २१ करोड जनसंख्या भएको प्रदेशमा १० प्रतिशत अर्थात २ करोड भन्दा बढी ब्राम्हण बस्छन् । उनीहरुलाई प्रदेश दिनु पर्ला कि नपर्ला ?

उत्तर प्रदेशको नामाकरण पनि कुनै जाति वा समुदाय विशेषका आधारमा छैन । ऐतिहासिक पृष्ठभूमिका आधार भन्दै पहिचानको झगडा गर्ने हो भने यो प्रदेशको नाम खोज्न रामायण ग्रन्थ पल्टाउनु पर्ने हुन्छ । किनकी रामायण महाभारतमा वर्णित धेरै जसो राज्यहरु यहि प्रदेशमा पर्छन् ।

अर्को उदाहरण लिउँ । भारतको उत्तराखण्डको भूगोल नेपालकै जस्तो छ । फरक यति हो कि आकारमा नेपाल भन्दा झन्डै तीन गुणा सानो छ । ७ हजार ८ सय १६ मिटर उचाइको नन्ददेवी हिमालदेखि समतल भूभाग पनि उत्तराखण्डमा छ । जस्तो नेपालमा हिमाल पहाड तराई छ, त्यसै गरी उत्तराखण्डमा पनि हिमाल पहाड तराई तीनै खाले भूगोल छ । पहाड र समतल मिसाउनै हुँदैन भन्नेहरुका लागि यो एक उदाहरण बन्न सक्छ ।

हिमाल पहाड तराई नछुट्टयाई पनि प्रदेश बन्दो रहेछ भन्ने उदाहरण हो यो ।

भारतकै पञ्जाबलाई पनि हिमाञ्चल प्रदेश र जम्मु कश्मीरको सीमासम्म घुसाइएको छ । पञ्जावका लागि पर्याप्त भूगोल, जनसंख्या, एकै किशिमको जलवायु हुँदा पनि सीमा भने पहाडसम्म पुर्याउन किन आवश्यक पर्यो ? समतल र पहाड मिसिनु हुँदैन भन्नुको वैज्ञानिक कुनै कारण भएको भए भारतका एक से एक विद्वानहरुले यो कुरा पक्कै गर्ने थिए ।

अर्को पनि उदाहरण छ । भारतकै वेस्ट बंगाल राज्यमा पहाडी जिल्ला दार्जिलिङ पनि छ । समुद्रको छेउको कलकत्ता पनि छ । पहाड तिरका गोर्खालीहरुले बंगालीहरुसँग मिलेर बस्न सक्दैनौं गोर्खाल्याण्ड देउ भनेको वर्षौ भइसक्यो पाएका छैनन् ।

भारतले नेपालका मधेसीले अधिकार पाएनन भन्ने बहानामा त्यति ठूलो अत्याचार गर्यो । भारतमा त्यहाँका जनताले पनि भनेजस्तो राज्य पाएका छैनन् । असन्तुष्टि त्यहाँ पनि छ । तर अत्याचार चाहिँ हामी निर्धो देशका जनताले सहनु पर्ने ? अनि त्यो अत्याचारको साक्षी चाहिँ हाम्रै देशका नेता बसिदिने । कस्तो अनौठो दूर्भाग्य ।

विशेष