अभिलेख

बिद्याको सेतो सारीमा रातो रंग छर्कन लगाएँ, काँग्रेसले छर्केको भनेर प्रचार गराएँ

बिद्याको सेतो सारीमा रातो रंग छर्कन लगाएँ, काँग्रेसले छर्केको भनेर प्रचार गराएँ

 हामी पुर्ख्यौली राज चित्रकार हौँ । स्थापित भनेको हाम्रो पूर्खाले पाएको पदवी हो । मेरो बाजेलाई राजपरिवारले दुःख दियो जबकी हामी उनैहरुकै सेवामा पुस्तौँ विताएका थियौँ । मलाई सानैदेखि यो बारेमा सुनाइन्थ्यो ।

मेरो काकाले किस्सा सुनाउने, बाजेलाई दुईहात बाँधेर पछाडि चाकु धलेर लडाएको बारेमा । झिँगाले कति टोक्यो होला ? त्यस्तो कुरा सुनेपछि ममा राजतन्त्रप्रति बितृष्णा जाग्यो । म कम्युनिष्ट भएँ । मदन भण्डारीका जुँगा लामा हुन्थे । नमिलेको । लुगापनि नमिलाइ लगाउने । काठमाडौँबाट चुनाव लड्नुपर्छ भनेर लबिङ गर्ने मध्यमा म पनि एक थिएँ । काठमाडौँमा चुनाव लड्ने भनेपछि अलि गेटअप परिवर्तन गर्नुपर्छ भनेर मैले उहाँलाई सुझाएँ । जुँगा चिटिक्क पारियो । कोट सिलाइदिए । मदनको व्यक्तित्व आर्कषक देखियो । कृष्णप्रसाद भट्टराईसँगको प्रतिष्प्रर्धामा मदन खरो दरिए । मदन र म प्रिय थियौँ । मदनको अप्रत्याशित निधन भयो । मध्यावधि निर्वाचन हुने भयो । मदनको ठाऊँमा बिद्या पाण्डेलाई उठाउन पर्छ भनेर लबिङ थालेँ । पार्टीले पनि त्यही निर्णय गर्‍यो ।

बिद्यालाई भाषण गर्नमै समस्या थियो । एक दमै सोझो लाग्थ्यो । भाषण कसरी गर्ने भन्ने बारेमा शंकर पोखरेल, कृष्णगोपाल महर्जन, राजेन्द्र श्रेष्ठलगायतकाले सुझाव दिइरहेका थिए । शंकर राजनीतिक सिद्धान्तका बारेमा के भन्ने भनेर सुझाउँथे । राजेन्द्र काठमाडौँबासीलाई के भन्ने भनेर सिकाउँथे । कृष्णगोपाल कृषिमा के गरिनेछ भन्ने बारेमा योजना सुनाउँथे । चुनाव दौडधुपमा व्यस्त भएकाले मैले मोजा धुन पाएको थिएन । मोजा गनाउने डरले म ढोका बाहिरै थिएँ । सबैका कुरा सुनेपछि मलाई झ्वाँक चल्यो । 'माफ पाऊँ, मोजा गनाउन सक्छ भन्दै म भित्र गएँ । सिद्धान्त, क्रान्ति र कृषिका कुरा गरेर चुनाव जितिदैनँ । कृष्णप्रसादले फुच्ची केटी भनेर उडाएका छन् । त्यसैमा केन्द्रीत हुनुपर्छ ।’ मैले सबैलाई रोक्दै भनेँ । 'मेरो श्रीमान मार्यौ । अहिले केटी भनेर हेप्दैछौँ । यो हेपाइ हामी सबै दिदी बहिनीको हो । मेरो यो पछ्यौरा तिमीहरुको कात्रो हो । काँग्रेसलाई चुनौति भयो ।’ मैले भाषणको शैली सुझाएँ । बिद्या हच्किइन् । त्यस्तो भन्ने र भन्न लागिन् । मैले भनेँ, 'व्यक्तित्वका दृष्टिले कृष्णप्रसादलाई जित्न सकिदैन । राजनीतिक कुरा गर्दापनि उनै हावी हुन्छन् । उनलाई जित्ने एउटै माध्यम हो इमोस्नल कुरा ।’ keshav-isthapit-bidhya-devi-bhandari-nepalaaja-02


चावहिलमा माइक तयार पारियो । मैले सबै व्यवस्था मिलाएँ । क्यामरादेखि रेकर्डरसम्म ठीक थियो । म्युजिकपनि तयार थियो । लाइटपनि त्यसैगरी मिलाइएको थियो । विद्या बोल्न आइन् । उनले पूरानै शैलीमा के के भन्न थालिन् । मान्छेलाई तान्न सकिरहेकी थिइनन् । मैले लाइटम्यानलाई इशारा गरेर उनको मुखमा लाइट पारिदिएँ । लाइट छल्न उनले म भएतिर हेरिन् । मैले टाउको हल्लाएँ । त्यसपछि उनले धमकेदार भाषण गरिन् । मेरो साडी तिमीहरुलाई कात्रो भयो भनेर बोलिन् ।

उनले आक्रामक बोली बोल्दा बित्तिकै मैले माइक बन्द गरेँ, म्युजिक ठूलो पारेँ । केहीलाई तोडफोड गरेजस्तो गर्नु भनेर पहिल्यै सिकाइसकेको थिएँ । त्यसपछि आफुले काँग्रेसले बिद्यामाथि आक्रमण गरेर कायरता प्रस्तुत गरेको भनेर कार्यक्रम टुंग्याइदिएँ । त्यसको एक घण्टा नबित्दै बिद्याको बोली र काँग्रेसले गरेको तोडफोडको रिल तयार भयो । नाङ्लेभारमा एकैछिनमा रिल पुगिसकेको थियो । त्यो घटनापछि बिद्याको पक्षमा माहोल पल्टिन थाल्यो । चुनाव विद्याको पक्षमा पर्ने देखिन थाल्यो । अर्को दिन पशुपतिमा कार्यक्रमको आयोजना गरियो । सेतो सारी लगाएर बिद्या कार्यक्रमस्थलमा जाँदै थिइन् । उनीमाथि रातो रंग छरियो । मञ्चमा पुगेपछि हामीले भन्यौँ, 'बिधवालाई रातो रंग छर्केर अत्याचार गर्ने काँग्रेसी हो, जनताले यसलाई विजयको टिकाको रुपमा बुझेका छन् ।’ विधवालाई रंग छर्केको भनेपछि काँग्रेसप्रति काठमाडौँबासीको मन कुडियो ।

ठट्यौली पाराका कृष्णप्रसाद त्यस्तै अभिव्यक्ति दिइरहन्थे । विद्याको पक्षमा विशेषतः महिला देखिए । उनीहरुले आफुलाई विद्याको ठाऊँमा राखेर हेरे । खासमा त्यो रातो रंग छर्ने योजना भित्रीरुपमा मैले नै बनाएको थिएँ । राजनीतिमा अनेक खेल हुन्छन् । त्यस्तै नखुलेका खेल खेलिएरै विद्याले चुनाव जितेकी हुन् । एमालेलाई एमाले बनाउन मेरोपनि योगदान छ । मेरो घर धितोमा राखेर चुनाव खर्च जुटाएका थियौँ । मैले पार्टी बाहेक अरु केही सोचिनँ । नत्र बिद्यालाई जिताउनकै लागि अनेक योजना किन बनाउँथेँ र ? आज विद्या राष्ट्रपति छिन् । म एमालेको मूल प्रवाहमा छैन । शितल निवासमा पुगेपछि बिद्याले सम्झेकी पनि छैनन् । कृष्णप्रसादलाई हराउन गरिएका अनेक कर्मको पाप ममाथि लागेजस्तो पनि लाग्छ ।

(काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितसँग गरिएको कुराकानीमा आधारित ।)

bidhya devi bhandari keshav isthapit

विशेष