मुख्य समाचार राजनीति

धनगढीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा, पोखरामा बाबुराममाथि जुत्ता प्रहार

धनगढीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा, पोखरामा बाबुराममाथि जुत्ता प्रहार
मंसिर – २३ । कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धनगढीमा एमालेका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । भारतको इशारामा राष्ट्रहित बिपरित संविधान संसोधनको प्रस्ताव ल्याएको भन्दै उनीहरुले कालो झण्डा देखाउँदै प्रधानमन्त्रीको विरोध गरेका हुन् । युवासंघ नेपालका केन्द्रीय सदस्य मदन रेग्मी र अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणि भट्टराईको नेतृत्वमा कालो झण्डा देखाएका हुन् । प्रधानमन्त्री दाहाल साथी होटलबाट पार्टी कार्यकर्ता प्रशिक्षणका लागि कैलालीको गेटा जाने क्रममा एलएन चोकमा रहेका उनीहरुले गाडी नजिकै अगाडिबाट कालो झण्डा देखाएका थिए । कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको बिरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि धनगढी बन्द गरेका छन् । बन्द गराएका एमाले काकार्यकर्ताले बिहीबार विहान सुरक्षाकर्मीलाई छक्याउदै प्रधानमन्त्रीलाई नजिकैबाट कालो झण्डा देखाएका हुन् । त्यस्तै, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सञ्जिव भट्टराईले संयोजक भट्टराईमाथि जुत्ता प्रहार गरेका हुन । क्याम्पस हातामा गरेको नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए । उनलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेका थिए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ । जुत्ता प्रहारले केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुन सञ्चालन भएको थियो । घटना भएको र भट्टराईलाई नियन्त्रणमा लिइएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले पुष्टि गरे ।

डा. बाबुराम भट्टराई नयाँ शक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री

विशेष