सबै दलको सहमतिमा संशोधन प्रस्ताव ल्याउन माग
मंसिर–२३ । नेकपा (एमाले)का नेता शत्रुघ्न महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगन गरी सबै दलको सहमतिमा मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी अर्काे प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा सांसद महतोले सरकारले संविधान संशोधनको औचित्य पुष्टि गर्न नसकेकाले आफ्नो दल सो प्रस्तावको विपक्षमा रहेको बताए । एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नभएको बताउँदै उन भने, “अहिले संविधान संशोधनको आवश्यकता हो कि कार्यान्वयन गर्ने बेला हो ? संविधान कार्यान्वयन गर्नका लागि सबै दल मिल्नाको विकल्प छैन ।”
कार्यक्रममा नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले एमालेको सहयोग र सहमतिमा मात्र संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै त्यसले संविधान कार्यान्वयनमा सहजता ल्याउने विचार व्यक्त गरेका छन् । उनले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि सरकारले ल्याएको संशोधन प्रस्तावलाई गलत प्रचार गर्न नहुने बताउँदै राष्ट्रियताको विषयमा पहाड र मधेस भनेर सामाजिक सद्भाव बिगार्ने काम कसैले गर्न हुँदैन भने । रासस
नेकपा एमाले
शत्रुघ्न महतो
संविधान संशोधन प्रस्ताव