ओलीलाई पुनको जवाफ ‘सभामुखलाई मैले चलाएको भन्ने हो भने राष्ट्रपतिलाई तपाईले चलाइरहनु भएको छ’
नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले सभामुख ओनसरी घर्तीका गतिविधिमाथि आफनो हस्तक्षेप नरहेको स्पष्ट गरेका छन् । सभामुख घर्तीलाई श्रीमानले चलाएको भनि केही समय पहिले एमाले अध्यक्ष केपी ओलीले टिप्पणी गरेका थिए । सोही बारेमा सोधिएको प्रश्नमा नेता पुनले कडा प्रतिक्रिया दिएका हुन् । ‘मैले सभामुखलाई चलाएको भन्ने हो भने कुनै बेला एमाले उपाध्यक्ष रहनुभएको राष्ट्रपतिलाई ओलीजीले चलाइरहेको भन्नुपर्छ ।’ पुनले थपे, ‘यस्तो तल्लो किसिमको कुरा कसैले गर्न हुँदैन ।’
हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै नेता पुनले आफु सभामुखको पतिका रुपमा कहिल्यै प्रस्तुत नभएको दाबी गरे । ८ बर्ष सांसद, १ पटक मन्त्री, २ बर्ष उपसभामुख र सभामुखका रुपमा ओनसरी खारिइसकेको तथा सक्षम प्रमाणित भइसकेको पुनकोे भनाइ छ ।
मण्डले राष्ट्रवादी
माओवादी नेता पुनले एमाले र अध्यक्ष ओलीतर्फ संकेत गर्दै मण्डले राष्ट्रवादीको संज्ञा दिएका छन् । देश टुक्रन लाग्यो भनेर जनतालाई भ्रमित पार्ने र अरु भाषा, संस्कृति र समुदायमाथि दमन गर्ने मण्डले राष्ट्रवादी शैली खाश पार्टी र नेतामा देखिइएको पुनको टिप्प्णी छ ।
पुनले भने, ‘विदेशीलाई राष्ट्रपति बनाउन लागियो भनेर हल्ला फिँजाइयो, सत्य थिएन । अहिले पहिले आफैँले गरेको प्रस्तावलाई समेत राष्ट्रघाती भनेर दुष्प्रचार गरिएको छ । यो सरासर राजनीतिक बेइमानी हो ।’ एमालेले माओवादीलाई राष्ट्रवादका बारेमा सिकाउन नसुहाउँने पुनको भनाइ छ ।
रोल्पालीका लागि बुटवलभन्दा पोखरा पायक
रोल्पाली नेता पुनले रोल्पाका बारेमा बुझदै नबुझी टिप्पणी भइरहेको जनाए । थवाङबाट पहाडी लोकमार्ग हुँदै पोखरा ६÷७ घण्टामा पुग्न सकिने उनको भनाइ छ । ‘बुटवलभन्दा रोल्पाका लागि पोखरा पायक पर्छ । रोल्पालाई नबुझि टिप्पणी भइरहेको छ । सुगमता मान्छेले बनाउने कुरा हो । कही असुविधा भए विकास गर्न सकिन्छ ।’ पुनको प्रष्टिकरण छ ।
उनले देशवासीलाई जोडनका लागि संविधान संशोधन प्रस्ताव ल्याइएको दाबी गरे । देशवासीको मनोविज्ञान जोड्नका लागि ल्याइएको प्रस्तावमाथि राजनीति गरेको भन्दै उनले एमालेको आलोचना गरे ।
हिन्दी भाषा हल्लामात्रै
हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी संशोधन प्रस्ताव ल्याइएको भन्ने आरोपलाई उनले भ्रमको खेतीको संज्ञा दिए । ‘भाषा आयोगले मातृभाषाको निक्र्यौल गर्ने हो । नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुनेछन् भनेर संविधानमा लेखिएको छ । हिन्दीलाई बनाउने भनेर कस्ले भनेको छ । हिन्दी किन ल्याउने ?’ उनले प्रतिप्रश्न गरे ।
अन्तरिम संविधान र संविधानमा लिपिवद्ध भइसकेका सन्दर्भमा समेत एमालेले अनेक अर्थ लगाइरहेको पुनले आरोप लगाए ।
बाबुराम पछाडि फर्कन खोजे
१२ बुँदे सहमति दिल्लीमा गर्नु आफुहरुको बाध्यता रहेको उनले प्रष्ट गरे । ‘हामीले रोल्पामा गरौँ भनेका थियौँ, गिरिजाबाबु घोडा चढ्न नसक्ने भएपछि दिल्लीमा गरौँ भन्ने भयो । खास सहमति रोल्पामै भएको हो ।’ उनले १२ बुँदेको बचाउ गर्दै भने । दिल्लीमा १२ बुँदे गर्नु गल्ती भएको भनि नयाँ शक्ति नेपालका संयोजक एंव पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई उनले आंशकायुक्त अभिव्यक्तिकारुपमा अर्थाएका छन् । ‘१२ बुँदे दिल्लीमा गरिएकै कारणले गल्ती भन्न उहाँलाई सुहाउँदैन । उहाँपनि एक प्रमुख पात्र हो । बरु कतै उहाँ पछिल्ला उपलब्धीबाट फर्केर १२ बुँदे अगाडिको ठाऊँमा पुग्न खोज्नुभएको त होइन ?’ बाबुरामप्रति उनले आंशका व्यक्त गरे ।
टोपबहादुरले गल्ती गरे, पार्टीमा छलफल हुन्छ
नेता टोपबहादुर रायमाझीले संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर गल्ती गरेको जनाए । यसबारेमा पार्टीमा छलफल हुने उनको भनाइ छ । रायमाझीसहितको बैठकले संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिएको पुनले प्रष्ट गरे । ‘उहाँले भनेजस्तो यो सरकारकोमात्र प्रस्ताव होइन । उहाँसहितको पार्टी निर्णय हो । उहाँले पाच नम्बर प्रदेशलाई नचलाउ भन्नु भएको थियो । तर निर्णय भइसकेपछि उहाँ यसरी प्रस्तुत हुनु राम्रो होइन । उहाँ देशकै नेता हो । आफ्नो गृहप्रदेशमात्र हेर्न हुन्थेन ।’ पुनले रायमाझीलाई सुझाव दिए ।
">