राजनीति

संशोधन प्रस्तावले समाधान खोज्ने प्रयास गरेको

संशोधन प्रस्तावले समाधान खोज्ने प्रयास गरेको
मंसिर - २५ । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले अहिलेको संविधान संशोधन प्रस्तावले समस्याको समाधान खोज्ने प्रयास गरेको चर्चा गर्दै यसमा केही परिमार्जनसहित आए सहयोग गर्ने जानकारी दिए । रिपोर्टर्स क्लबमा आयोजना गरिएको साक्षात्कारमा झाले सीमाङ्कनको सवालमा आफूहरुले भनेजस्तो गरी परिमार्जन भएर आए प्रस्ताव पारित गर्न सहयोग गर्ने धारणा राखे । नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्र जैसवालले अहिले आएको संशोधन प्रस्ताव पहिलेभन्दा प्रगतिशील भएको विश्वास व्यक्त गरे । मधेसी जनताले गरेको आन्दोलन नदेख्ने तर अहिलेको प्रस्तावको विरुद्धमा भएको आन्दोलनलाई मात्रै आन्दोलन देख्ने एमालेको प्रवृत्ति गलत भएको उनको भनाई थियो । नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले संविधान कार्यान्वयनका लागि संशोधन अनिवार्य भएकाले सरकारले संसद्मा प्रस्ताव दर्ता गराएको जानकारी दिए । उनले संसद्मा दर्ता भएको प्रस्तावलाई राष्ट्रघाती भनेर आरोप लगाउने एमाले अध्यक्ष केपी ओलीसँग बसेर बहस गर्न तयार रहेको बताए। नेकपा (एमाले)का नेता डा वंशीधर मिश्रले संशोधन प्रस्ताव जनताको हितमा नभएको बताए । उनले सबै पक्षसँग छलफल गरेर औचित्य पुष्टि गर्नेगरी अर्को प्रस्ताव ल्याए आफूहरु सहयोग गर्न तयार रहेको चर्चा गरे । उनले एमाले अहिलेको संशोधन प्रस्तावका पक्षमा भने नउभिने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले संशोधन प्रस्तावमा परिमार्जन आवश्यक रहेको स्पष्ट पारे । उनले संविधान संशोधन जस्तो गहन विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने चर्चा गर्दै प्रस्ताव जनताको इच्छाअनुसार आउनुपर्ने बताए । रासस

राष्ट्रिय मधेस समाजवादी

विशेष