भारतीय राजदूत रेलाई देश निकाला गर्न एमाले निकट युवा विद्यार्थीको माग
मंसिर २६ । एमाले निकट युवा तथा विद्यार्थी संगठनहरुले नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गर्न माग गरेका छन् । कुटनीतिक मर्यादाविपरीत क्रियाकलाप गर्दै आएका रेलाई भारत नै फिर्ता पठाउने पर्ने ती संगठनहरुको माग छ ।
अनरास्ववियु, युवासंघलगायत संठगनले परराष्ट्रमन्त्री डा. प्रकाशरशरण महतलाई आइतबार भेटेर ज्ञापन पत्र पनि बुझाउँदैछन् । ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले राजदूत रायलाई फिर्ता पठाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो,’ अनेरास्ववियुका सचिवालय सदस्य ओसिम आलमले भने, ‘ज्ञापन पत्र बुझाउने तयारी हुँदैछ ।’ अनेरास्ववियुसहित प्रतिपक्षमा रहेका राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले संविधान संशोधनको विरोध र भारतीय हस्तक्षेपको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि लैनचौरस्थित भारतीय दूतावास नजिक बिरोध प्रदर्शन समेत गरेका थिए । आन्दोलनको क्रममै उनीहरुले सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म दौड जुलुशको आयोजना हुँदैछ ।