युवा तथा विद्यार्थीद्वारा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण
मंसिर–२६ । नेकपा (एमाले), नेकपा (माले), जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टीनिकट युवा तथा विद्यार्थी सङ्गठनका नेताहरुले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतलाई कूटनीतिक क्षेत्रलाई मर्यादित बनाउन आइतबार ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारस्थित मन्त्री महतको कार्यकक्षमा राजदूत तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिले देशको राजनीतिमा प्रभाव पार्ने गतिविधिलाई नियन्त्रण गर्न उनीहरूले ध्यानाकर्षण गराएका थिए । युवा सङ्घका अध्यक्ष राजीव पहारीले संविधान संशोधन प्रस्ताव स्वदेशी मामिला भएकाले त्यसप्रति विभिन्न मुलुकका राजदूतले अनावश्यक चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले राजदूतले चाहेमा जुनसुकै नेतालाई जहिले पनि भेट्ने अवस्थाको अन्त्य गरी सम्बन्धित मुलुकको आवश्यकता र शिष्टाचारका आधारमा चरणबद्ध रुपमा भेट गर्ने व्यवस्थाको माग गरे ।
मन्त्री महतले युवा तथा विद्यार्थीले मुलुकको राष्ट्रियताप्रति देखाएको चिन्ताको सराहना गर्दै कूटनीतिक क्षेत्रलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेकाे भेटमा सहभागी अनेरास्ववियुका विद्यार्थी नेता आरसी लामिछानेले जानकारी दिए ।
सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि विभिन्न मुलुकका राजदूतले अस्वाभाविक चासो राख्दै आएका छन् । रासस
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत
विद्यार्थी सङ्गठन