प्रचण्डलाई नचाएकी रेखा थापाले माओवादी छाडिन्, कमल थापाको राप्रपामा प्रवेश
मंसिर २७ । चर्चित नायिका रेखा थापाले नेकपा माओवादी केन्द्र छाडेर राप्रपा नेपालमा प्रवेश गर्दैछिन् । नायिका रेखालाई पार्टीमा भित्राउन राप्रपाले काठमाडौँको बानेश्वरस्थित इन्द्रणी कम्प्लेक्समा विशेष कार्यक्रमको आयोजना गरेको छ । नेता दिलनाथ गिरीले रेखा राप्रपामा आउन लागेको जानकारी दिए । ‘मुख्यरुपमा उहाँ प्रवेश गर्दै हुनुहुन्छ आज । अरु साथीहरु पनि हुनुहुन्छ ।’ गिरीले नेपाल आजसँग भने ।
नायिका रेखा थापाको राजनीतिक परिचय माओवादीका रुपमा बनेको थियो । माओवादी अध्यक्ष प्रचण्डले सेनापति प्रकरणमा प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै सडक आन्दोलन थालेको थियो । २०६६ सालमा उसले गरेको सडक आन्दोलनमा रेखा माओवादीको पक्षमा सडकमा उत्रिएकी थिइन् । प्रचण्डलाई सडकमै नचाएपछि रेखा राजनीतिकरुपमा चर्चित भएकी थिइन् ।
संविधानसभाको दोस्रो निर्वाचनको मुखैमा उनी माओवादीमा विधिवतरुपमा प्रवेश गरकी थिइन् । उनलाई माओवादीले पर्साबाट टिकट पनि दिएको थियो । मतदाता नामावलीमा नाम नलेखाएका कारण उनी उम्मेदवार हुन पाइनन् । माओवादीको पक्षमा प्रचार गर्न रेखा प्रचण्ड सँगसँगै अभियानमा लागेकी थिइन् ।
माओवादी चुनावमा नराम्रोसँग पराजित भएपछि उनी राजनीतिबाट टाढा रहँदै आएकी थिइन् । यसअघि राप्रपा र राप्रपा नेपाल एकीकरण भएकै दिन गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी थिइन् ।