राजनीति

प्रधानमन्त्री दाहालसँग बंगलादेशी प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री दाहालसँग बंगलादेशी प्रतिनिधिमण्डलको भेट
मंसिर २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोसलिस्ट पार्टी अफ बंगलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको सो भेटमा प्रधानमन्त्री दाहाल र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवम् नेकपा (माओवादी केन्द्र) र सोसलिस्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धका बारेमा छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपाल परिवर्तनका मुद्दालाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन संस्थागत गर्दै समृद्धि हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेको बताएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण र नवनिर्माण एवम् समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय हित र साझा सवालमा नेपाल र बंगलादेशबीच सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास व्यक्त गरेका थिए । भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बंगलादेशको सोसलिस्ट पार्टीले नेपाल र नेकपा (माओवादी केन्द्र) सँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई बंगलादेश भ्रमणका लागि निमन्त्रणा गर्नुभएको सचिवालयले जनाएको छ ।

Prachanda

विशेष