नेपाल आज विशेष

योमह्री पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

योमह्री पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै
मंसिर–२८ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मंगलबार मनाइँदैछ ।उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको किरात समुदायको संस्कृतिमा अध्ययनरत कीर्तिकुमार दुमी राईले जानकारी दिए । “प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्छ, किरात समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन्”– उनले भने । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमा योमह्री पूर्णिमा पर्व र उधौली पर्व

विशेष