तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ– पौडेल
मंसिर–२७ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको साेमबार शिलान्यास गर्दै उनले भने – ''संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ ।''
नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा जोड दिए । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो भवनले सहयोग पुर्याउने पनि उनले बताए ।
सो अवसरमा सांसदद्वय टुकराज सिग्देल र रामचन्द्र पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पवनजङ्ग रायमाझी, दमौली अस्पतालका अध्यक्ष हरिराज कँडेल र जनस्वास्थ्य अधिकृत मुक्तिनाथ पण्डित लगायतले सो भवन निर्माण भएपछि सर्वसाधारणलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने बताएका छन् ।
रु. दुई करोड ५६ लाख २६ हजारको लागतमा करिब १८ महिनामा सो भवनको निर्माण कार्य सक्ने लक्ष्य लिएको छ । यसैबीच नेता पौडेलले साेमबारनै छाब्दी मार्गको निरीक्षण गर्नुका साथै बैरेनी खानेपानी आयोजनाको समेत उद्घाटन गरे । रासस
नेपाली काँग्रेस
रामचन्द्र पौडेल
संविधान संशोधन