राजनीति

स्थानीय निकाय निर्वाचन गराउन तीन दल सहमतः सभापति देउवा

स्थानीय निकाय निर्वाचन गराउन तीन दल सहमतः सभापति देउवा
मंसिर - २८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिद्वारा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दैै उनले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेको बताए । देश सङ्घीयतामा गइसकेकाले २०७४ माघ महिनासम्म स्थानीय, प्रान्तीय तथा केन्द्रीय तहको निर्वाचन गराउन आवश्यक रहेको उनको धारणा थियो । “संविधानको कार्यान्वयन गराउन काँग्रेसको काँधमा जिम्मेवारी आएको छ”– उनले भने । यसका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन उहाँले अगाडि थपे । उनले मधेस र पहाडकाबीचमा खाडल नहोस् भनेर संविधान संशोधन प्रस्ताव ल्याएको बताए । संशोधन प्रस्ताव सहजरुपमा पास हुने उनले विश्वास व्यक्त गरे । अब देश चुनावी मैदानमा गएकाले गाउँगाउँ, जिल्लाजिल्ला गएर तरुण साथीले पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न निर्देशनसमेत दिए । सभापति देउवाले स्थानीय निकायको चुनाव जित्नसकेमा राष्ट्रिय राजनीतिमा काँग्रेस अग्रपङ्क्तिमा रहनसक्ने भएकाले त्यसतर्फ पार्टीका कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले तरुण दलमा काम गरिसकेकालाई पार्टीमा स्थान दिनेसमेत बताए । छिट्टै पार्टीको केन्द्रीय विभाग बनाउने तयारी भएकाले त्यस स्थानमा तरुण साथीलाई समावेश गराउने उनको प्रतिबद्धता थियो । युवा पुस्तालाई हाँक्ने किसिमको काम नवनिर्वाचित तरुण दलको काँधमा आएको समेत स्पष्ट पारे। स्थानीय निकायलगायत अन्य निर्वाचनमा काँग्रेसलाई विजयी गराउन तरुण दलको भूमिका उल्लेखनीय हुनेमा उनको विश्वास थियो । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर रहेकाले त्यसतर्फ पार्टीपङ्क्ति सजग रहनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयन र संशोधन प्रस्तावलाई पारित गराउन मधेसी मोर्चा र नेकपा (एमाले)लाई विश्वासमा ल्याउन काँग्रेसले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा

विशेष