राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राख्नुपर्छ : अध्यक्ष थापा
मंसिर–२९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राखेर सङ्गठन सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
पार्टीका नवनियुक्त पदाधिकारीलाई पदबहाली गराउन आज केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्दै देश र जनताको सेवालाई प्राथमिकतामा राखेर राजनीति तथा सामाजिक सेवा सञ्चालन गर्न आग्रह गरे ।
उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले अहिले देशमा रहेका राजनीतिक शक्तिकाबीच नयाँ धु्रवीकरण बन्न सक्ने सम्भावना रहेको औँल्याउँदै संविधान संशोधनको विषय पेचिलो बन्दै गएको बताए । अध्यक्ष थापाले राष्ट्रको प्राचीन मूल्य मान्यता तथा परम्परा र संस्कृतिको संरक्षणका लागि बलियो प्रजातान्त्रिक शक्तिको खाँचो रहेको बताए ।
उनले स्थानीय निर्वाचनको सम्भावना बढेकाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न गाउँगाउँमा पुगेर जनताको सेवामा लाग्न पदाधिकारीलाई निर्देशन दिएका छन् ।
सो पार्टीले मङ्गलबार २० सदस्यीय पदाधिकारी चयन गरेको पार्टीका सहायक प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए । रासस
कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी