राजनीति

'स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति'

'स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति'
मंसिर – ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् । नेपाली कांग्रेस चितवनको संगठन सुदृढिकरण एवं जागरण अभियान २०७३ को विहीबार चितवनमा उद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहोर्‍याए । उनले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उनले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक संकट आउने उल्लेख गरे । उनले भने–‘अब यसलाई कसैले टारेर टर्दैन । स्थानीय, प्रान्तीय र संघीय निर्वाचन सकेर राष्ट्रियसभा र राष्ट्रपतिको निर्वाचन हुन्छ ।’ नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरेअनुरुप नै सीमांकन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उनले स्पस्ट पारे । एमालेले प्रस्ताव पास हुने डरले संसद चल्न नदिएको र जनता उचालेको उनको भनाइ थियो । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै भने–‘कांग्रेस र माओवादी संशोधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।’ आफ्नै पार्टीभित्रको प्रसंग कोट्याउँदै उनले अब पार्टीभित्र गुट–उपगुटभन्दा पनि मूल्यांकनको आधारमा पार्टीका सारथिलाई अगाडि बढाउने बताए । ‘गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनोस् । चुनाव जसरी पनि जित्नुपर्छ’–उनले भने । कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले देशको विगतलाई हेर्दा जुनबेला राजनीतिकस्थिरता आयो त्यतिबेलामात्रै विकास भएको बताए । उनले भने–‘बीपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति–निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।’ बीपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रसंग कोट्याउँदै उनले गाउँबाट संगठन सुदृढ बनाउन आग्रह गरे । कांग्रेसलाई पहिलो पार्टीमात्रै नभएर बहुमतको पार्टी बनाउन केन्द्रबाट गर्ने सहयोग गर्न तयार रहेको भन्दै उनले गुट–उपगुट छाडेर संगठन विस्तारमा जोड्न कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सगरमाथाको देश र संस्कृतिक धरोहरमात्रै भनेर अब चिनाइराख्नु नहुने भन्दै आर्थिक समृद्धि र विकास गरेर विश्वको नमुना देश बनाउनुपर्ने बताए । संविधान कार्यान्वयन नभएसम्म देशको विकास हुन नसक्ने भन्दै उनले यसका लागि सबै दलको बीचमा सहमति जरुरी रहेको विचार राखे । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले १३औं जिल्ला अधिवेशनपछि पाँच हजारजना अन्य दलबाट कांग्रेसमा प्रवेश गरेको भन्दै उनीहरुलगायत कांग्रेसलाई पनि प्रशिक्षण हुने गरी दुई महिने अभियान सुरु गरेको बताए । सो अवसरमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नवलपरासीका सभापति विष्णु लामिछाने, चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, विष्णुमाया परियारलगायतले कांग्रेसको संगठन विस्तारबारेमा बोलेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष विष्णु कँडेल र व्यवसायी धनप्रसाद पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । रासस

Sher Bahadur Deuwa नेपाली काँग्रेस शेरबहादुर देउवा

विशेष