रोजगार

‘नेपाली युवाको भावी रोजगारीका लागि घोषणापत्र’ जारी

‘नेपाली युवाको भावी रोजगारीका लागि घोषणापत्र’ जारी
मंसिर–३० । युवा, विद्यार्थी, युवा सङ्गठन, नागरिक समाजलगायत प्रतिनिधको सहभागितामा रहेको बिहीबारको एक कार्यक्रमबाट ‘नेपाली युवाको भावी रोजगारीका लागि घोषणापत्र’ जारी गरिएको छ। घोषणापत्रमा नेपाली युवाका लागि रोजगारीको अवसर बढाउनुपर्ने, नीतिनिर्माण तहमा तिनको प्रतिनिधित्व बढाउनुपर्ने, युवाको उद्यमशीलता र स्वरोजगार विकास गर्नुपर्ने, मर्यादित श्रम, न्यूनतम ज्याला र सामाजिक सुरक्षाको सुनिश्चिता हुनुपर्ने, युवालाई सीपयुक्त तालिम दिनुपर्ने, तिनलाई रोजगारीको अवसरबारे समुचित जानकारी दिनुपर्ने, लैङ्गिक समानता हुनपर्ने लगायत विषय घोषणापत्रमा उल्लेख छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) बीच सहकार्य भएको ५० वर्ष पुगेका अवसरमा बिहीबार आयोजित ‘नेपाली युवाका हेराइमा भावी रोजगारी’ विषयको कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गाय राइडरले युवाले नियमित कामभन्दा पृथक कामको खोजी गर्न आवश्यक रहेको बताए। राइडरले भने, “अबको युवा पुस्ताले ९ बजेदेखि ५ बजेसम्मको नियमित कामभन्दा पृथक व्यावसायिक र व्यावहारिक काम के हुन सक्छ भन्ने खोजी गर्न आवश्यक छ ।” उनले विप्रेषणमा आधारित अर्थतन्त्र दिगो हुन नसक्ने भएकाले विप्रेषणबाहेकका क्षेत्रलाई प्राथमिकतामा राख्दै लैजानुपर्ने सुझाव दिए। विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके मात्रै त्यसले दीर्घकालीन फाइदा पुग्ने उनको सुझाव छ। आइएलओका युवा रोजगारविज्ञ माथ्यु कोग्नकले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई क्रमशः औपचारिक क्षेत्रमा ल्याउन सके मात्रै श्रमिकको हकहितको रक्षा हुन सक्ने बताए। रासस

युवा रोजगारी

विशेष