राजनीति

बाबुरामले भित्र्याउँदै छन् माओवादी केन्द्रका दर्जनभन्दा बढी केन्द्रीय नेता, प्रचण्डलाई ठूलो धक्का

बाबुरामले भित्र्याउँदै छन् माओवादी केन्द्रका दर्जनभन्दा बढी केन्द्रीय नेता, प्रचण्डलाई ठूलो धक्का

नेकपा माओवादी केन्द्रका दर्जनभन्दा बढी केन्द्रीय सदस्य नयाँ शक्ति पार्टीमा प्रवेश गर्दैछन् । सुदुरपश्चिमका सबैभन्दा बरिष्ठ बाम नेताका रुपमा चिनिने भीम कडायतको नेतृत्वमा माओवादीका दर्जनभन्दा बढी केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गर्न लागेका हुन् । नेपाल आजसँग कुरा गर्दै कडायतले आर्थिक समृद्धि र आन्तरिक राष्ट्रियता मजबुत बनाउन नयाँ शक्ति प्रवेश गर्न लागेको बताए ।

पूर्वमन्त्री समेत रहेका कठायत एमाले उपाध्यक्ष भीम रावलका पनि राजनीतिक गुरु मानिन्छन् । २०४० सालमा अछामको सदरमुकामस्थित माध्यामिक विद्यालयको प्रधानाध्यापक रहेका कडायतले कम्युनिष्टहरु खाशै नरहेको सुदुरपश्चिममा कम्युनिष्ट आन्दोलनलाई उचाईँमा पुर्याउन विशेष भुमिका निर्वाह गरेका थिए । २०५१ सालमा एमालेले सुदुरपश्चिममा मात्रै ११ सिट जित्दा धेरै आश्चर्यमा परेका थिए । एमालेभित्रको अन्तरकलह चुलिँदा कडायत बामदेब गौतमको पक्षमा लागे । गौतमको पक्षमा लागेकै कारण उनलाई संस्थापनले पाखा लगाएको र उनीभन्दा कनिष्ठ रावललाई अगाडि बढाएको थियो ।

कडायतको पार्टी प्रवेशलाई नयाँ शक्तिले विशेष उपलब्धीका रुपमा लिएको बताइन्छ । सोह्र खुट्टेस्थित नेपा पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

कडायतसँगै डडेल्धुराका चर्चित नेता जगत पार्की पनि माओवादी छाडेर नयाँ शक्तिमा प्रवेश गर्न लागेको बुझिएको छ । दलित अभियन्ता पार्की सुदुरपश्चिममा परिचित पात्र हुन् । अन्य नेताको नाम र हैसियत गोप्य राखिएको छ । माओवादीको डोटी जिल्ला कार्यसमिति सुन्यप्राय हुने गरी कडायतसँगै नेता कार्यकर्ता नयाँशक्तिमा आउन लागेको बताइन्छ ।

सुदुरपश्चिममा नयाँ शक्ति बलियो

नयाँ शक्तिको हालै बसेको बैठकले आफ्नो संगठन अरु प्रदेशको तुलनामा सात नम्बर प्रदेशमा बलियो रहेको निष्कर्ष निकालेको थियो । सात नम्बर प्रदेश सहसंयोजक पवित्रा तिमिल्सेनाले सात नम्बर प्रदेशलाई नमुना प्रदेशका रुपमा स्थापित गराउन आफुहरु लागेको बताइन् । अखण्ड सुदुरपश्चिमको पक्ष र विपक्षमा माओवादी केन्द्रका नेताहरु विभाजित भएसँगै माओवादी केन्द्र सो क्षेत्रमा रक्षात्मक बनेको थियो ।

थारुहरुको उल्लेख्य उपस्थिति रहेको कैलालीमा नयाँशक्तिको संगठन अन्य जिल्लामा भन्दा बलियो रहेको बताइन्छ । अछाम पुख्यौली भएका कडायत कैलालीको लम्कीमा बस्दछन् । ‘माओवादी केन्द्रमा पनि बस्ने, नयाँ शक्तिलाई सघाइरहने गरिरहन नैतिकताले मिलेन । त्यसैले प्रत्यक्ष लाग्ने भइयो ।’ नेपाल आजसँग कुरा गर्दै कडायतले भने ।

baburam bhattarai Naya Sakti Prachanda Puspakamal Dahal

विशेष