राजनीति

सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन - सभापति देउवा

सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन - सभापति देउवा
चितवन, पुस १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेले प्रस्ताव गरेझैं सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए । तीन दलकाबीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए । मधेसवादी दलहरु संविधान संशोधन नभइ निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि रु भन्ने प्रश्नको जवाफमा उनले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गरे । संसदको अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराइ निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो । विसं २०७४ माघभित्र कुनैपनि हालतमा तीनओटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताए । संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो । सत्तारुढ दलहरुले कुनैपनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उनले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताए । रासस

शेरबहादुर देउवा

विशेष