राजनीति

संशोधन प्रस्तावलाई थाँती राखेर संसदको गत्यावरोध हटाउनुपर्छः डा. महत

संशोधन प्रस्तावलाई थाँती राखेर संसदको गत्यावरोध हटाउनुपर्छः डा. महत
पुस – १ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. महतले भने, ‘संविधान संशोधन प्रस्तावलाई लजिकल ईण्डमा पुर्याउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो, एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठिक हो ।’ महतले प्रतिपक्षी दल एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनुपनि उचित नहुने जिकिर गरे । अहिले देखिएको संसदको गत्यावरोधलाई अन्त्य गर्नको लागि पनि संशोधन प्रस्तावलाई थाँती राखेर जानुको विकल्प नरकेको उनको भनाई थियो । उनले अहिले संशोधन प्रस्ताव फिर्ता लिन नहुने बताउँदै यसलाई थाँती राखेर अन्य अति आवश्यक ऐन÷कानूनहरुलाई अघि बढाउनु पर्नेमा जोड दिए । निर्वाचन सम्बन्धी विद्येयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउँदै अहिले संसदमा रहेका विभिन्न ऐन तथा कानूनहरुलाई निश्कर्षमा पर्याएर अब चुनावको मिति घोषणा गर्नु पर्ने उनको तर्क थियो । उनले पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख तीन दलवीच भएको सहमति स्वागतयोग्य रहेको बताए । उनले एमालेले भनेजस्तो अहिले नै केन्द्रिय संसदको चुनाव गर्न नहुने जिकिर गरे । महतले भने,‘अहिले समय बाँकी छ, ०७४ माघ ७ गतेसम्म तीन वटै निकायको निर्वाचन गर्नुपर्ने भएकोले समय बाँकी छ ।’ उनले स्थानीय निकायको निर्वाचन नै अहिलेको आवश्यकत्ता भएको बताए ।

डा. रामशरण महत

विशेष